काठमाडौँ : नेकपा एमालेले पार्टीपंतिलाई सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिएको छ। पार्टी महासचिव शंकर पोखरेलले सरकारकाे पूर्वाग्रही र प्रतिशोधपूर्ण कदमविरुद्ध कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुन सक्ने भएकाले तयार रहन निर्देशन दिएका हुन्। पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरू र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन्। पाेखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा सुरु गर्न पनि निर्देशन दिएका छन्। पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ सुरु गरिएको यस अभियानलाई सफल पार्न पार्टी कमिटी मात्र नभई जनसंगठनहरू पनि परिचालन गर्ने योजना बनाइएकाले सोहीअनुसार परिचालित हुन उनले आग्रह गरेका छन्। मिसन पार्टी जागरणका लागि एमालेले पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ। महासचिव पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन र वर्ग, समुदाय तथा पेसागत क्षेत्र समेटेर जागरण अभियान सम्पन्न गर्न सुझाव दिएका छन्।














