को होला सशस्त्र प्रहरी बलको नयाँ कमाण्डर ?

6

काठमाडौं । मुलुकको दोस्रो शक्तिसाली सुरक्षा फौज सशस्त्र प्रहरी बलको नयाँ नेतृत्वको बहस यतिबेला चुलिएको छ । सशस्त्र प्रहरी बलका वर्तमान आइजिपी राजु अर्याल यहिँ वैशाख १८ मा अवकाशमा जाँदै गर्दा संगठन नयाँ मोडमा प्रवेश गर्दैछ । प्रतिस्पर्धामा रहेका दुई मुख्य दाबेदार—नारायण प्रसाद पौडेल र वंशी राज दाहाल बीचको प्रतिस्पर्धा अब केवल वरिष्ठता र कार्यक्षमतामा मात्र सीमित छैन, बरु विगतका घटनाक्रम र सार्वजनिक धारणा पनि निर्णायक बन्ने देखिन्छ । नेतृत्व परिवर्तनको समय नजिकिँदै जाँदा अहिले बहस केवल “को आइजिपी बन्छ ?” भन्नेमा मात्र सीमित छैन यो निर्णयले सरकारको नीति, निष्पक्षता र जनविश्वासको स्तर कति छ भन्ने पनि परीक्षण गर्ने धेरैको बुझाई रहेको छ ।

विशेषगरी “जेन–जी आन्दोलन” को क्रममा कार्यर फौज परिचालनमा जोडिएका नामहरूमध्ये एआईजी पौडेलमाथि उठेका प्रश्नहरूले यो नियुक्तिलाई अझ संवेदनशील बनाएको छ । पौडेललाई गौरी बहादुर कार्की नेतृत्वको छानबिन आयोगले समेत कारबाही सिफारिस गरेको चर्चा पनि चल्ने गरेको छ । वर्तमान सरकारले समेत यसलाई गहन रूपमा लिएको देखिन्छ । यससँगै सरकारले गठन गरेको अध्ययन समितिले यस विषयलाई अझ गम्भीर बनाएको छ ।

यता, जेन जेड आन्दोलनको जगमा सम्पन्न आम निर्वाचनबाट स्पष्ट जनमतसहित सत्तामा आएको वर्तमान सरकारका लागि यो निर्णय केवल प्रशासनिक नियुक्ति होइन यो विश्वासको परीक्षा जस्तै बनेको छ । जनताले अपेक्षा गरेको नयाँ थिति र न्यायपूर्ण शासन” को सन्देश दिने कि पुरानै शैली दोहोरिने भन्ने प्रश्नको उत्तर यहीँ निर्णयले उत्तर दिनेछ ।
वरिष्ठता र संस्थागत परम्परालाई हेर्दा पौडेल अगाडि देखिए पनि, विवादको छायाँले उनको बाटो सहज छैन । अर्कातर्फ दाहाल तुलनात्मक रूपमा विवादरहित र समान ब्याचका सक्षम अधिकारीका रूपमा विकल्पका रूपमा रहेका छन ।

अब सबैको नजर नयाँ बन्ने गृहमन्त्री तर्फ छ जसले न्याय, पारदर्शिता र मापदण्डमा आधारित निर्णय व्यवहारमा कति लागू गर्नेछन् समयले देखाउनेछ । अन्ततः प्रश्न एउटै छ सरकार जनताको भरोसालाई प्राथमिकता दिन्छ, कि प्रणालीभित्रको दबाबलाई ? यस निर्णयले सशस्त्र प्रहरी बलको भविष्य मात्र होइन, सरकारप्रतिको जनविश्वासको दिशा पनि तय गर्नेछ ।
वर्तमान आइजिपी अर्याल चार वर्षको कार्यकाल सम्पन्न गरी अवकाश हुन लागेका बेला आइजिपीका दुई दाबेदार उनकै ब्याचका छन्

अर्याल नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा २०५४ चैत १८ मा नियुक्त भएका थिए । सशस्त्रेका एआइजी पौडेल र नेपाल प्रहरीका वर्तमान आइजिपी दानबहादुर कार्की, एआइजीहरू राजन अधिकारी र डा. मनोजकुमार केसी र सशस्त्रका एआइजी वंशीराज दाहाल पनि सोही मितिमा भर्ना भएका थिए । अर्यालसहितको टोली २०५८ सालमा सशस्त्र प्रहरी बल गठन हुँदा एक तह बढुवाको सुविधासहित सशस्त्रमा समायोजित भएका थिए ।

सशस्त्रमा पौडेल र दाहालमध्ये वरिष्ठतामा डिएसपीबाट एआइजीसम्म पौडेल अगाडि छन् । एआइजी बढुवा हुँदा पौडेल पाँच महिनाले सिनियर हुन् । सरकारले यी दुई मध्य जसलाई सशस्त्रको नेतृत्व दिएपनि २०८४ चैत १८ गते उनीहरु अनिवार्य अवकाशमा जाने छन् ।