इजरायली सहरहरूमा इरानको क्लस्टर बम प्रहार, तेहरानमा जवाफी हमला

1

काठमाडौं । इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार गरेको छ। अमेरिका-इजरायल र इरान युद्धको २४ औँ दिनको दिन आइतबार राति इरानले इजरायलको राजधानी तेल अवीवसहित कैयौँ सहरहरूमा क्लस्टर बम प्रहार गरेको हो ।यस आक्रमणमा करिब १५ जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। धेरै घर र सडकहरूमा पनि क्षति पुगेको छ। लगत्तै, इजरायलले पनि सोमबार इरानको राजधानी तेहरानमा क्षेप्यास्त्र प्रहार गरेको छ।यसैबीच, अमेरिकाका लागि इजरायली राजदूत येचिएल लिटरले इरानलाई ‘घुँडा नटेकाएसम्म’ इजरायलले आफ्नो सैन्य कारबाही जारी राख्ने बताएका छन्। उनले भने, ‘इजरायल अब आफूमाथि लगातार आक्रमण गरिरहेको देशसँग सँगै रहन सक्दैन।’

अर्कोतर्फ इरानी राष्ट्रपति मसुद पेजेस्कियनले कुनै पनि आक्रमणको जवाफ मैदानमै दिइने बताएका छन्। उनले इरानका आणविक केन्द्रहरूलाई निशाना बनाइयो भने होर्मुज स्ट्रेट बन्द गर्ने चेतावनी दिएको छ । यस्तो भएमा विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पार्नेछ। यसैबीच, एक्सियोस न्युजमा प्रकाशित एक समाचारका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोली इरानसँग युद्धविरामको विषयमा कुरा गर्न चाहन्छ। यस काममा ट्रम्पका सल्लाहकार जारेड कुस्नर र स्टिभ विटकफ पनि लागिपरेका छन्। यद्यपि इरानले वार्ताका लागि पहिले युद्ध रोक्नुपर्ने र उसलाई भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने सर्त राखेको छ। भविष्यमा आफूमाथि फेरि आक्रमण नहुने पक्का ग्यारेन्टी मिल्नुपर्ने इरानको भनाइ छ।