काठमाडौं : जब चैत-वैशाख महिना लाग्छ, अभिभावकहरूलाई टाउको दुखाइ शुरु हुन्छ। कारण- विद्यालयले बढी शुल्क लिनु। विद्यालयमै पुस्तक किन्न बाध्य पार्नु र पोसाक खरिद गर्न लगाउनु। यस्तो कार्य सामुदायिक विद्यालयभन्दा पनि बढी निजी विद्यालयले गर्छन्। नयाँ शैक्षिक सत्र नजिकिदै छ। यतिखेर सामुदायिक तथा निजी विद्यालयमा धमाधम वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। नयाँ शैक्षिक सत्रमा मौका छोपी निजी विद्यालयहरूले शैक्षिक शत्र सुरु नहुँदै नयाँ भर्ना पनि चलाइरहेका छन्। काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुल, बुद्धनगरस्थित काव्या स्कुल, लगनखेलस्थित उन्नति सेकेण्डरी स्कुल, बसुन्धारास्थित एक्टिभ एकेडेमी स्कुल लगायतले २०८३ को नयाँ भर्ना खुला भइसकेको सूचना आफ्नो पेजमा राखेका छन्।
अभिभावकहरूले यसलाई रोक्न माग गरेका छन्। नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘सामुदायिक र निजी विद्यालयमा फरकफरक मितिमा भर्ना हुने खालको अवस्था अन्त्य अझै हुन सकेन, एकरूपताका लागि केन्द्र र स्थानीय सरकारको प्रभावकारी नीति र अनुगमन आवश्यक छ।’ निजी स्कुलले आफूखुसी चर्को शुल्क लिएर सबै अभिभावकलाई मारमा पार्ने गरेको पनि उनले बताए। ‘विद्यालयले आफूखुसी शुल्क बढाउँछन्, यसलाई केन्द्र र स्थानीय सरकारले अनुगमन गरेर कारबाही गनुर्पर्छ’, उनले भने। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय तहको सञ्चालन र व्यवस्थापन स्थानीय तहको अधिकार क्षेत्र रहेको सन्दर्भमा ऐन, नियम पालनाका लागि कुनै जटिलता आएमा केन्द्र सरकारले चासो राख्ने बताए।












