सहिद स्मारक राष्ट्रिय महिला लिगमा संकटा क्लबको विजयी सरूवात

7

काठमाडौं । सहिद स्मारक राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा संकटा क्लबले न्युरोड टीम-एनआरटीमाथि ४-० गोलको फराकिलो जित हात पारेको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा संकटा सुरूवात बाटनै हावी भएको थियो । पाँचौं मिनेटमै संकटाले अग्रता बनायो । कर्नरबाट आएको बललाई एनआरटी गोलकिपर अस्मिता नेपालीले पञ्च गरेकी थिइन् । संकटाकी क्विनाबेल एकुसाको प्रहार एनआरटीकी ग्यान्सु डोल्मा लो ले क्लियर गरेकी थिइन् । तर, एनआरटीको कमजोर डिफेन्सको फाइदा उठाउँदै कप्तान यसोदा शाहीले गोल गरेकी हुन् । २३औं मिनेटमा सुक्रिया मियाले एक्लो प्रयासमा गोल गर्दै अग्रता दोब्बर पारिन् । २६ औं मिनेटमा लुसिया लैला जोसेले गोलकिपर अघि बढेको मौका छोप्दै गोल गरेपछि संकटाले एनआरटी संगको दुरी तीन शुन्यमा पुर्याइन् । ५२ औं मिनेटमा क्विनाबेले गोल गरेकी हुन् । कमजोर प्रदर्शन गरेको एनआरटी खेलमा र्फकन सकेन र संकटाले सहज जीत निकाल्न सफल भयो । इन्जुरी समयमा संकटाले पांचौ गोल गर्ने अवसर गुमाएको थियो ।