–हेमराज ढकाल
भक्तपुर । विहिवार सम्पन्न संघीय प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर जिल्लाका दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरु बिजयी भएका छन् । क्षेत्र नं. १ मा रास्वपाका रुकेश रन्जित र क्षेत्र नं. २ मा राजिव खत्रीले जीत हासिल गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका कार्यालय प्रमुख प्रकाश मगरका अनुसार क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार रन्जितले ३३ हजार ४ सय ३६ मत ल्याएर बिजयी भएका हुन् । त्यसैगरि उनका निकटतम प्रतिद्धन्द्धी नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले २८ हजार १ सय ४७ मत ल्याए । रन्जित सुवालको मतान्तर ५ हजार २ सय ९२ रहेको छ । पराजित भएका नेमकिपाका सुवाल क्षेत्रबाट २०७४ र २०७९ सालमा निर्वाचित सांसद समेत हुन् । कार्यालय प्रमुख मगरका अनुसार क्षेत्र नं. १ मा नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २ सय ८२, नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७ सय २१ मत ल्याएका छन् । त्यसैगरि राप्रपाका भरत बहादुर खड्काले २ हजार ४ सय ७२ र नेकपाका हरिराम लवजुले १ हजार १ सय ७७ मत ल्याए ।
यो क्षेत्रमा १ लाख ७ हजार ५४ जना मतदाता रहेको मा ७७ हजार २ सय ५७ जनाले मात्र मतदान गरेका थिए । ७४ हजार ९ सय ६७ मत सदर र २ हजार २ सय ९० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ । यस क्षेत्रमा राजनितिक दल र स्वतन्त्र गरेर २५ जनाले उम्मेदवारी दिएका थिए ।
बजेन सुवालको
भक्तपुरको क्षेत्र नं. १ मा वि.स २०४८ सालदेखि २०७९ नेमकिपाकाका उम्मेदवार लगातार बिजय हुदैं आएका थिए । २०४८, २०५१, २०५६, २०६४ र ७० मा नारायणमान बिजुक्छेले जित हासिल गरेका थिए । २०७४ र ०७९ मा प्रेम सुवाल बिजय भएका थिए । यो पटक जित निकाल्ने प्रयासमा रहेका सुवाललाई रास्वपाका उम्मेदवार रन्जितले रोकेका छन् । झ्ण्डै ३५ वर्ष लामो नेमकिपाको विरासतलाई ढालेको रास्वपाका नेताहरुको दाबि छ । विगतका पनि ंकांग्रेस, एमाले र नेकपाका उम्मेदवारले सामान्य चूनौति दिएपनि यसपटक भने रास्वपाले नेमकिपाको किल्ला भत्काएको छ, रास्वपा भक्तपुर नगरका नेता सिद्धीनारायण आचार्य भने । नगरपालिकाले गरेको देको मिवा इतापाके जग्गा एकिकरण आयोजनामा पक्षपात गरिएको र स्थानीयलाई ठुलो आर्थिक नोक्सान भएको र मानसिक तनाव समेत भएको आचार्य दाबि छ ।
२०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा देको मिवा इतापाके आयोजन पीडित सघर्ष समितले सत्यराम त्वायनालाई स्वतन्त्र उम्मेदवार बनाउदैं भक्तपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी समेत दिएका थिए । त्वायनाले उक्त निर्वाचनमा २ हजार ३ सय ९९ मत ल्याएका थिए । २०७९मा बजेको खतराको घण्टीलाई सामान्य ठान्दा यतिबेला भएको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुरको १ नंं निर्वाचन क्षेत्रमा सुवालको मादलको बदला घण्टी बजेको त्वायर्ना बताए । नेमकिपाको लामो समयको विरासत किन जोगाउन सकेन भन्ने विषयमा हामीले उक्त पार्टीका केही नेतालाई सम्पर्क गर्न खोज्दा उहाँहरु सम्पर्कमा आउनु भएन ।
भक्तपुर २ मा उदाएन सूर्य
भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार राजिव खत्रीले एमालेका सविच समय बस्नेतलाई ठुलो धेरै मतान्तरले पराजित गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीका अनुसार रास्वापाका खत्रीले ४२ हजार ३ सय ३४ मत ल्याएका छन् भने एमालेका बस्नेतले निकै कम १० हजार ९ सय ९६ मत ल्याए । खत्री र बस्नेतलको मतान्तर ३१ हजार ३ सय ३८ रहेको छ । २०७४ सालमा यस क्षेत्रबाट निर्वाचित भएका एमालेका बस्नेत २०७९ को निर्वाचनमा कांग्रेसका दूर्लभ थापासंग पराजित भएका थिए । विगतमा बस्नेतका केही अभिव्यक्तिले गर्दा यो निर्वाचनमा सोचजस्तो मत नआएको स्वयम् एमालेको नेताहरुको भनाई हरेको छ । जेन्जी आन्दोलनपछि एमाले विरुद्ध भ्रम छर्ने काम भएकाले पनि यो पटकको निर्वाचनमा हामीले क्षति व्यवहोर्नु पुगेका छौं, नाम उल्लेख नर्गने सर्तमा ती नेताले भने । उक्त क्षेत्रमा कांग्रेसका उम्मेवारले आफ्नो मत लिन नसक्दा एमालेलाई समेत नोक्सान परेको एमालेको दाबि छ । 
भक्तपुर क्षेत्र नं. २ कांग्रेसका कविर राणाले ८ हजार ४ सय १, नेमकिपाका रमेश वैद्यले ३ हजार ५ सय ५३, नेकपाका रामप्रसाद सापकोटाले १ हजार ३ सय २३ र राप्रपाका बिक्रम थापाले १ हजार २ सय २४ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. २ मा ९८ हजार ३ सय ५६ जना मतदाता रहेकोमा ७१ हजार ६ सय २३ जनाले मात्र मतदान गरेका थिए । उक्त क्षेत्रमा ६९ हजार ७ सय ७२ मत सदर भएको र बदर मतको संख्या १ हजार ८ सय ५१ रहेको छ । यहाँ राजनितिक दल र स्वतन्त्र गरेर ३२ जना उम्मेदवारहरुले निर्वाचनमा सहभागीता जनाएका थिए ।













