सर्लाही नै गगनको चुनावी मुकाम

3

सर्लाही । कांग्रेस सभापति गगन थापाको मुकाम पछिल्लो समय सर्लाही बनेको छ । अन्त कतै चुनावी सभालाई सम्बोधन गर्न जानुपरे पनि साँझ बास बस्न सर्लाही आइपुग्छन् । समय निस्केसम्म घरदैलो भ्याउँछन् । आफ्नो क्षेत्र नछाड्ने र बाहिरी जिल्लाका सभालाई सम्बोधन पनि गर्ने भनेर थापाले हेलिकोप्टर प्रयोग गर्न थालेका छन् । सर्लाही–४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थापा शुक्रबार बिहानसम्म घरदैलोमै थिए । तर दिउँसो हेलिकोप्टर चढेर बुटवल पुगे, त्यहाँको चुनावी सभालाई सम्बोधन गरे । त्यसपछि कपिलवस्तु, पोखरा र बागलुङको सभा पनि भ्याए । साँझ सर्लाही नै आइपुगे ।

थापाले बिहीबार सुर्खेत र नेपालगन्जको चुनावी सभालाई सम्बोधन गरेका थिए । बुधबार अबेरसम्म सर्लाहीमा घरदैलो गरेर साँझ उनी काठमाडौंमा बास बसेका थिए । उतैबाट सुर्खेत पुगेका उनी नेपालगन्जपछि साँझ सर्लाही आइपुगेका थिए ।

चुनावमा सर्लाही ल्याउन जोडबल गरेका पार्टीका नेता, कार्यकर्ताले भनेजस्तो सहजै जित्ने स्थिति नदेखेपछि थापाले अधिकांश समय मतदाता भेटघाटमा बिताइरहेका छन् । ‘सहजै जित निस्किन्छ, थोरै समय दिए पुग्छ भनिएको थियो,’ थापा टिमका एक सदस्यले भने, ‘यहाँ आएपछि परिस्थिति भिन्न देखियो । जसले बोलाएर ल्यायो, उसैप्रति पार्टी कार्यकर्ता तथा मतदाताको टिप्पणी सकारात्मक देखिएन ।’ यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ