मतदाता थर्काउँदै रास्वपा उम्मेदवार, एउटा भन्छन्- ‘राष्ट्रघाती’, अर्को ‘हनुमान’

4

सुनसरी–३ का रास्वपा उम्मेदवार अशोक चौधरीको विवादित अभिव्यक्तिका कारण कार्यक्रमस्थलमा तनाव भएको छ। इटहरी जेसिजद्वारा सुनसरी २ र ३ का उम्मेदवारसँग गरिएको कार्यक्रममा चौधरीले घण्टीमा भोट नहाल्नेहरू राष्ट्रघाती भएको बताएका थिए। मतदातालाई चेतावनी दिएपछि आक्रोशित भिडबाट चौधरीलाई जोगाउन प्रहरीले सुरक्षा दिएर कार्यक्रमस्थल बाहिर निकालेको थियो। बिहीबार इटहरी जेसीजले सुनसरी क्षेत्र नम्बर २ र ३ का उम्मेदवारहरूबीच आयोजना गरेको ‘ककस’ (संवाद) कार्यक्रममा उम्मेदवार चौधरीले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले देशको निकासका लागि रास्वपालाई दुई तिहाइ बहुमत दिनुपर्ने तर्क राख्दै मतदान नगर्नेलाई देशविरोधीको संज्ञा दिए। चौधरीले त्यति बोल्नासाथ कार्यक्रममा सहभागी युवा र अन्य दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदै होहल्ला सुरू गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका राजीव कोइराला, नेकपा एमालेका सुजन लामा, नेकपाकी रामकुमारी चौधरी लगायतका उम्मेदवार उपस्थित थिए।

यस्तै विवादित अभिव्यक्ति दिएका कारण ललितपुर क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार जगदीश खरेल र स्थानीय मतदाताबीच चुनावी घरदैलोका क्रममा चर्काचर्की भएको थियो। भोट माग्न पुगेका खरेल र मतदाताबीच भएको विवादको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसमा उम्मेदवार खरेल आक्रोशित मुद्रामा देखिएका छन्। मतदाताले सोधेको प्रश्नमा आक्रोशित बनेका खरेलले ती मतदातालाई ४५ वर्षदेखि देश लुटेर खाने दलको ‘हनुमान’ भन्दै प्रतिवाद गरे। मतदाताले खरेलको बार्बरा फाउन्डेसनसँगको आबद्धतामाथि प्रश्न उठाएपछि स्थिति झनै तनावपूर्ण बनेको थियो। खरेलले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिँदै आफ्नो पार्टीले मात्र देश बनाउन सक्ने दाबी समेत गरे। पूर्वसञ्चारमन्त्री समेत रहेका खरेललाई पछिल्लो समय ‘भगौडा मन्त्री’को आरोप लाग्दै आएको छ। चुनाव गराउने म्यान्डेटसहित सरकारमा सामेल भएका उनी एकाएक मन्त्री पद छाडेर रास्वपाबाट उम्मेदवार बनेपछि स्थानीय रुष्ट देखिएका हुन्। मतदातालाई नै ‘हनुमान’ भनेर थर्काएको भन्दै अहिले खरेलको चौतर्फी आलोचना भइरहेको छ।