बालेनमाथि पनि छन् प्रश्न

7

देशको प्रधानमन्त्री हुन आँट गर्ने व्यक्तित्वले जनतासँग दोहोरो संवाद गर्न नचाहनु अधिनायकवाद प्रधान देशका लागि सुहाउँदो मनस्थिति र मोडेल हुन सक्ला तर खुला प्रजातान्त्रिक समाजका लागि भने पाचनयोग्य हुँदैन । चुनावको सरगर्मी बढ्दै गएको छ । तीन ठूला दलले जनतासामु आफ्नो पार्टीका तर्फबाट प्रधानमन्त्री को हुने भनेर घोषणासमेत गरिसकेका छन् । तर प्रधानमन्त्री हुनका लागि पनि पहिलो खुड्किलोस्वरूप संसद्को सदस्य बन्नुपर्ने हुन्छ । यो पहिलो खुड्किलो पार गर्नका लागि संघर्ष गर्नेहरूमा चर्चित व्यक्तित्व केपी शर्मा ओली, बालेन शाह र गगन थापा छन् । यी तीनैले एक–अर्कालाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरेको स्पष्ट छ । अझ केपी ओलीले त बालेन शाहलाई औपचारिक बहसमै पनि ललकारेका छन् । अलि आश्चर्यको कुरो के छ भने केपीको चुनौतीलाई उनीभन्दा आधा उमेरले कान्छा बालेनले अस्वीकार गरे । अस्वीकार गर्ने कारणमा बालेनले २३ भदौको जेन–जी युवाहरूको हत्याकाण्डलाई सम्झेका छन् । निश्चय पनि त्यस दिनको घटना कसैले पनि बिर्सन सक्दैन । तर यसका साथै २३ गतेको घटनाको बुइँ चढेर जेन–जीको नाममा जेन–जीबाहिरका केही तत्त्वहरूले नेपाल राज्यलाई ध्वस्त गने प्रयास गरे । तर त्यसलाई नियन्त्रण गर्नसम्म पनि विभिन्न तहका राष्ट्रिय र स्थानीय इकाइहरूले देखाएको निरीहता र मौनता पनि नेपाली इतिहासमा ठूलो प्रश्नचिह्नका रूपमा रहेको छ । केपी ओली र बालेन शाह दुवै प्रधानमन्त्रीका आकांक्षी भन्ने स्पष्ट छ । ओली धेरै पटक प्रधानमन्त्री भइसके । मेयरको हैसियतले बालेनले आफ्नो विशेष छवि बनाएका छन् । यी दुवै व्यक्तिहरूले जनताका अगाडि आपसमा बहस नगर्ने हो भने पनि एकअर्कालाई छुद्र गाली गरेर आफ्नो ‘महानता’ देखाउने प्रवृत्ति छाडेर जनतासँग सम्बन्धित मुद्दाहरूमा स्पष्ट रूपमा विभिन्न फोरममा राय र छलफल गर्न तयार हुनु उचित हुने देखिन्छ ।