कञ्चनपुर :आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ। जिल्लामा विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारहरू जितका लागि मतदातालाई फकाउँदै छन्। यहाँका वादी समुदाय भने आफ्नो अवस्था परिवर्तन र अधिकारको सुनिश्चितता खोजिरहेका छन्। जिल्लाका गुन्यालफाँटा, गर्जमुनी, कृष्णपुर, भीमदत्त नगरपालिकाको जमुनाभाडी, सब्जीमण्डी, दोधारा चाँदनी र पुनर्वासलगायत क्षेत्रमा दुई सयभन्दा बढी वादी परिवारको बसोबास छ। यी बस्तीका मतदाताले मत माग्न घरदैलोमा आउने उम्मेदवारसँग परम्परागत आश्वासनभन्दा स्पष्ट कार्ययोजना र कार्यान्वयनको विश्वासिलो आधार खोज्ने गरेका छन्। संविधानले प्रत्याभूत गरेको गाँस, बास र कपासको सुनिश्चितता गर्न सक्नेलाई मात्र मत दिने भन्दै उम्मेदवारसँग त्यसको आधार मागिरहेको स्थानीय पदम वादी राना बताउँछन्।
यसअघि विभिन्न आयोग र कार्यक्रम घोषणा भए पनि समुदायको जीवनस्तरमा अपेक्षित सुधार नआएको उनको गुनासो छ। उनले अब सुरक्षित आवास, युवालाई स्वदेशमै रोजगारी, शिशुदेखि उच्च शिक्षासम्म निःशुल्क शिक्षा तथा बसोबास गरिरहेको जग्गाको स्वामित्व सुनिश्चित गर्ने अजेन्डा ल्याउने उम्मेदवारलाई समर्थन गर्ने बताए। ‘हरेक पटक चुनाव आउँछ, उम्मेदवारले आश्वासन दिन्छन्। हामी पनि मक्ख पर्दै मत हालिरहेका थियौँ। यस पटक भने मीठा भाषण गर्नेलाई होइन, हाम्रा समस्या समाधान गर्ने ठोस आधार भएका उम्मेदवार र पार्टीलाई मत हाल्छौँ,’ उनी भन्छन्। अर्की स्थानीय दुरा कुमाल पनि उम्मेदवारले कागजमा जनाउने प्रतिबद्धतामा मात्र नफस्ने भन्दै व्यवहारमा कार्यान्वयन हुने आधार हेरेर निर्णय गर्ने बताउँछिन्। उनी भन्छिन्, ‘वादी समुदाय सामाजिक, आर्थिक र शैक्षिक रूपमा पछाडि परेको छ, त्यसमा पनि महिलाको अवस्था झनै संवेदनशील छ। वर्षौंदेखि भोग्दै आएको सामाजिक उत्पीडन अन्त्यसँगै समुदायको उत्थान, महिला सशक्तीकरण र लक्षित कार्यक्रमलाई प्राथमिकता दिने उम्मेदवार हाम्रो रोजाइमा पर्छन्। हामी सल्लाह गरेरै मत हाल्छौँ।’














