महाशिवरात्री पर्व: भक्तपुरको डोलेश्वर मन्दिरमा भक्तजनको घुइँचो

1

भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको हो। मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा आउने साधुसन्तलाई वर्ग अनुसारको दक्षिणा दिइने केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी दिएको छ ।

समितिका अध्यक्ष धर्मराज बस्नतेले साधुसन्तहरुलाई पाँच दिनका लागि भोजन, दक्षिणा, कम्बल, धोती तीन हजार पाच सय रुपैया बराबरे समितिको तर्फबाट वितरण हुने बताए । प्रत्येक वर्ष झै यस वर्ष पनि डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीका समयमा साधुसन्तहरुलाई क, ख, ग गरि तीन आधारमा वर्गिकरण गरीएको छ । “क वर्गका साधुसन्तकालागि एक हजार एक सय पाँच रुपैंया, ख वर्गका रु सात सय रुपैया र ग वर्का साधुसन्तका रु पाँच सय दक्षिणा दिइनेछ,” अध्यक्ष बस्नेतले भने ।

यस मन्दिरको वार्षिक कार्यक्रम अनुसार शिवरात्री दिन सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका आइतबार चारै ढोका बिहान ४ बजे देखि बेलुका ८ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुल्ला रहनेछ बस्नेतले जानकारी दिएका छन् । महाशिवरात्री पर्वलाई भव्यताका साथ सम्पन्न गर्न समितिका अध्यक्ष बस्नेतको संयोजकत्वमा सम्पूर्ण पदाधिकारी तथा सदस्य रहने गरी शिवरात्री पर्व मूल समारोह समिति गठन गरि तयारी गरेको विकाश समितिका महासचिव हरिशरण बस्नेतले बताए । यो वर्ष नेपाल तथा भारतको विभिन्न स्थानबाट करिब ३ सय भन्दा धेरै साधुसन्त सो मन्दिरमा आएका छन् । यस्तै भक्तपुर दत्रातय, आशापुरी लगायतका मन्दिरमा पनि शिवरात्रीका अवसरमा भक्तजनको घुइचो लागेको छ।