काठमाडौं । प्रकाश पाठकलाई काठमाडौं ल्याइएको छ । इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई बुधबार बिहान फिलिपिन्समा पक्राउ गरि काठमाडौं ल्याइएको हो । परिसरको टोलीले पाठकलाई लिन फिलिपिन्स पुगेको थियो ।
परिसरको हिरासतमा राखेर पाठकविरुद्ध अनुसन्धान अघि बढाइएको परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । उनकाअनुसार विद्युतीय कारोबार ऐन, आपराधिक लाभ जस्ता विषयमा उनीमाथि अनुसन्धान हुने बताइएको छ । काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौँका एसएसपी थापाले जानकारी दिए । पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो ।
नोटिस जारी भएपछि उनी फिलिपिन्समा लोकेट भएका थिए । पाठकले अख्तियार प्रमुख प्रेमकुमार राई सहित १० जना हाई प्रोफाइललाई धम्की दिएका थिए । सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै उनी भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए ।
पाठकसँग ‘कनेक्सन’ मा देखिएका ३ जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धादिङ घर भएका शरणजङ्ग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धिरेन्द्र सुनार थिए । पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।













