१० वर्षीया बालिकाको त्यो विशेष विवाह

8

कुरा २०२३ को हो । १० वर्षीया एम्मा एडवर्ड्स सधैं विवाह गर्ने सपना देख्थिन् । एकफेर उनले र उनका प्रेमी ड्यानियल मार्सल क्रिस्टोफर ‘डीजे’ विलियम्स जूनियरले आफ्नो प्राथमिक विद्यालयमा विवाह गर्ने प्रयास समेत गरेका थिए । उनीहरूलाई विद्यालयमा विवाह गर्न नमिल्ने बताएर शिक्षकहरूले रोकेका थिए ।

भनिन्छ नि, साँचो प्रेमले सबै कुरा जित्छ । एम्मा र डीजेको हकमा त्यस्तै दु:खान्त सहितको सुख बन्दियो । किनकि जुन २९ मा दुवैको ठूलो उत्सवका साथ विवाह भयो । तर, त्यसबेला एम्मा आफ्नो मृत्युको नजिकै थिइन् । उनलाई ल्युकेमिया (रगतको क्यान्सर) भएको थियो । र, दु:खद कुरा, विवाहको ठीक १२ दिन पछि उनले संसार छाडेर गइन् ।एम्मालाई अप्रिल २०२२ मा मात्रै ‘एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया’ (एएलएल) भएको पत्ता लागेको थियो । यस प्रकारको क्यान्सरले रगत र हड्डीको मासीलाई असर गर्छ । यो बालबालिकाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरको प्रकार हो । कतिपय अवस्थामा उपचारपश्चात यो ठीक पनि हुने गर्छ ।

नर्थ क्यारोलिनाको वालनट कोभका उनका आमाबुबा एलिना र आरोन एडवर्ड्सलाई पनि छोरीले क्यान्सरलाई जित्न सफल हुन्छिन् भन्ने आशा थियो । तर जुन महिनामा एम्माका आमाबाबुले उनको क्यान्सर निको हुन नसक्ने र उनीसँग बाँच्नका लागि केही दिन मात्र बाँकी रहेको खबर पाए । जुन उनीहरूका लागि अनपेक्षित थियो । उनीहरूले अर्को विधिमार्फत उपचार गर्ने सोचेका थिए । तर, त्यसो गर्नु समयको बर्बादी मात्र थियो ।