संगीत दुनियाँकै सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड २०२६’ यो साता लस एन्जलसमा आयोजना हुँदैछ । यो ग्रामीको ६८औँ संस्करण हो, जहाँ सधैँझैँ यसपालि पनि ग्ल्यामर, ठूला स्टार र दमदार प्रस्तुति हेर्न पाइने पक्का छ । पप म्युजिकका चर्चित नामदेखि हिप-हपका हस्ती र नयाँ उदाउँदै गरेका कलाकार सबै एउटै मञ्चमा देखिनेछन् । हरेक वर्षझैँ यसपालि पनि फ्यानले केही यस्ता क्षणको अपेक्षा गरेका छन्, जुन संगीतको इतिहासमा सधैँका लागि यादगार रहनेछन् ।अवार्डको साथसाथै स्टेजमा हुने लाइभ पर्फमेन्सले यो कार्यक्रमलाई अझै भव्य बनाउनेछ । अमेरिकाको लस एन्जलसमा कार्यक्रम हुँदैछ । अवार्ड समारोह नेपाली समयानुसार २ फेब्रुअरी सोमबार बिहान ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ । तपाईंले यसलाई डिज्नी प्लस हटस्टार र स्टार मुभिज च्यानलमा प्रत्यक्ष हेर्न सक्नुहुन्छ अमेरिका र अन्य देशका दर्शकले यसलाई सीबीएस च्यानलमा राती ८ बजेदेखि ११ः३० बजेसम्म हेर्न पाउनेछन् , प्रिमियम प्रयोगकर्ताका लागि प्यारमाउन्ट प्लसमा पनि यो लाइभ स्ट्रिम हुनेछ ।
फेरि एकपटक चर्चित कमेडियन र होस्ट ट्रेभर नोआ नै अवाड्र्सको मञ्चमा छाउनेछन् । तर यसपालिको शो अलि भावुक र विशेष पनि छ । सन् २०२१ देखि लगातार ग्रामी होस्ट गर्दै आएका ट्रेभरको यो लगातार छैटौँ वर्ष हो । यो ग्रामी नोआको अन्तिम होस्टिङ शो हुनेछ । त्यसैले उनले यसलाई यादगार बनाउन कुनै कसर बाँकी राख्ने छैनन् । यसपालि उनी केवल होस्ट मात्र होइनन्, शोको कार्यकारी निर्माता पनि हुन् । पर्फर्मरहरूको कुरा गर्ने हो भने, जनवरी २६ को पत्रकार सम्मेलनपछि केही ठूला नामहरू बाहिर आएका छन् । यो पालि स्टेजमा नयाँ र पुराना कलाकारको गज्जबको मिश्रण देखिनेछ ।सबैभन्दा ठूलो खबर त के छ भने, जस्टिन बिबर झण्डै ४ वर्षको लामो ग्यापपछि ग्रामीको स्टेजमा फर्किएका छन् । उनका फ्यानका लागि यो निकै भावुक र खुसीको पल हुनेछ । चर्चित गायक ह्यारी स्टाइल्स र डोचीलाई अहिलेसम्मको कन्फर्म प्रिजेन्टर (अवार्ड दिने व्यक्ति) भनिएको छ । यसपालि युवा कलाकारको पनि ठूलो लिस्ट छ । सबरीना कार्पेन्टर, क्याट्सआई, ओलिभिया डिन, लियोन थोमस, एडिसन रे, सोमब्र, लोला यंग, द मारियाज र एलेक्स वारेन जस्ता उदाउँदा स्टारले पनि पर्फमेन्स दिनेछन् ।














