काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदातासमक्ष कांग्रेस नै सबैभन्दा नयाँ दल भएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार काठमाडौं–४ को निर्वाचन परिचालन समितिको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले भर्खरै विशेष अधिवेशनबाट बदलिएर कांग्रेस नै नयाँ दल भएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।‘तपाईँहरू घरघर गएर भन्दैगर्दा यदि कसैले भन्छ-म यसपटक पुरानो पार्टीलाई भोट दिन्न, नयाँ पार्टीलाई भोट दिन्छु । एकछिन अडिएर जवाफ दिनुहोला । पुरानो र नयाँको परिभाषा के हो? पुरानो र नयाँबिचको भेद के हो? तपाईँहरू त्यहाँ अडिएर प्रश्न गर्नुहोला,’ सभापति थापाले भने ।यदि नयाँ नै खोजेको भए कांग्रेस नै नयाँ भएको सन्देश दिन पनि सभापति थापाले आग्रह गरे । उनले भने,‘फागुन ६ गतेभन्दा अघि अधिवेशन गरेर आफू नेतृत्वमा आएको कांग्रेस नै नेपालको सबैभन्दा नयाँ पार्टी हो । यो कुरा मतदातासमक्ष लगेर भन्नुहोला ।’














