काठमाडौ । गण्डकी प्रदेसको नवलपरासी (बर्दाघाट सुस्ता पुर्व) जिल्लाको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे कावासोती, बाघखोरमा घरबास संचालन कार्यविधि माथि अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम शुक्रबार सुरु भएको छ । आइतबारसम्म संचालन हुने कार्यक्रममा नेपालका ७० जिल्लाका करिब २ सय ९० जना होमस्टेकर्मीहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएकोछ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले अहिले पर्यटनको रुचि फेरिएको र ईन्टरनेटमा हेरेर नयाँ-नयाँ ठाउँ घुम्नेको संख्या बढेको बताउनु भयो । नेपालको सामुदायिक पर्यटनको अवधारणा विश्वमै प्रचार भएकाले यसको प्रवर्द्धन गर्न सबैजना लाग्नु पर्ने कार्यकारी निर्देशक जोशीको भनाई छ । “हिजोआज केही होमस्टे होटल जस्ता हुन थालेकाले अब बन्ने कार्यविधिले त्यस्तालाई समेत सम्बोधन गर्नु पर्दछ, ” जोशीले भन्नुभयो ।
होमस्टे महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेस शंकर मर्दानिया थारुले देशभर रहेका होमस्टेको मर्मलाई मर्न नदिन र निजि तथा सामुदायिक होमस्टे संचालन गर्ने कार्यविधि बनाउन गोष्ठी आयोजना गरिएको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “प्रदेश, पालिकाले बनाएका आफ्नो-आफ्नो कार्यविधिलाई एकरुपता ल्याउन मुख्य उद्देशले नै कार्यक्रम आयोजना गरिएको हो ।” स्थानीय स्तरमा भएका प्राकृतिक र सांस्कृतिक कुरा खाना तथा भेषभुषा संरक्षण गर्दै नेपालमा होमस्टे कल्चरको विकास भएको उहाँको भनाई छ । होमस्टेले नेपालमा रोजगारीको अवसर समेत गरेको अध्यक्ष थारुको भनाई छ ।
कार्यक्रम होमस्टे महासंघका उपाध्यक्ष प्रकाश गुरुङ, महासचिव कृष्ण चौधरी, कोषाध्यक्ष सुरज बास्तोलालगायतले देशभर एकरुपता ल्याउन र स्थानीय कुराको प्रवर्द्धन गर्न गोष्ठीले सहयोग पुग्ने विश्वास गर्नु भयो ।
होमस्टे (घरबास) व्यवस्थापन कार्यविधि माथि छलफल सुरु भएको छ । नेपाल पर्यटन वोर्ड र युएनडिपीको साझेदारी र होमस्टे महासंघको व्यवस्थापन तथा आयोजनामा कार्यक्रमको भएको हो ।














