भजन “मालारानी” को म्युजिक भिडियो सार्वजनिक

10

अर्घाखाँची । अर्घाखाँची जिल्लाको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको मालारानी क्षेत्रको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ लोक भजन “मालारानी” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनमा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको शब्द तथा संगीत रहेको छ। भजनमा मोतिराज खनाल र गायिका सुनितामी परियारको सशक्त स्वर सुन्न सकिन्छ भने चर्चित एरेन्जर महेन्द्र भण्डारीले एरेन्ज गरेका छन्। भजनको सम्पादन जनार्दन खनालले गर्नुभएको हो।

सान्सा फिल्मको प्रस्तुति रहेको यस भजन मालारानी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको हो। भिडियोमा लोकप्रिय कलाकार सुरबिर पण्डित, शर्मिला शर्मा, सुस्मिता बुढाथोकी, शोभाखर खनाल र राजेन्द्र रानाको प्रभावशाली अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन सुरज खनालले गर्नुभएको हो, जसले मालारानी क्षेत्रको धार्मिक महत्व, संस्कृति र प्राकृतिक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
यस भजन निर्माणमा मालारानी गाउँपालिका र मालारानी मन्दिर व्यवस्थापन समितिको सहकार्य रहेको छ। यसअघि सार्वजनिक भएको चर्चित “सुपा देउराली” भजनले पाएको व्यापक सफलतापछि सोही टिमको नयाँ प्रस्तुति भएकाले पनि “मालारानी” भजनप्रति दर्शक तथा श्रोताको चासो बढेको देखिन्छ।

भजनको अडियो मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिस्ट सागर बाजुराली, मिक्सिङ खडक बाजुरालीले गर्नुभएको हो भने भिडियो सम्पादन बिनोद बमले गर्नुभएको छ।
निर्माण टिमले यस भजनले मालारानी क्षेत्रको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। स्थानीय कला, संस्कृति र धार्मिक स्थललाई गीत–संगीतमार्फत राष्ट्रियस्तरमा चिनाउने प्रयासका रूपमा यो भजनलाई महत्वपूर्ण मानिएको छ।