सन्ध्या ढुंगाना
काठमाडौं । भालि अर्थात आइतबारदेखि नेपालमा आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ। आयोजक राष्ट्र नेपालसहित कुल १० टोलीको सहभागिता रहने यस प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्यालेन्डर अनुसार नेपालले आयोजना गर्न लागेको हालसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता समेत हो। त्यसैले नेपाली क्रिकेट प्रेमीहरूको ध्यान छनोट खेलतर्फ केन्द्रित भएकाे छ।
प्रतियोगिता अघि सबै टोलीहरू नेपाल आइसकेका छन् र अभ्यास खेलमा व्यस्त समेत छन्। नेपाल क्रिकेट संघ (क्यान) ले अभ्यासका लागि त्रिवि क्रिकेट मैदान र मूलपानीका दुवै मैदान उपलब्ध गराएको छ। यस ग्लोबल छनोटमा शीर्ष चारमा पर्ने टोलीले महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्। छनोट प्रतियोगितामा समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्यूगिनी, नामिबिया र संयुक्त राज्य अमेरिका छन्। समूह ‘बी’ मा आयोजक नेपालसँगै थाइल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन्।
समूह ‘ए’
१. बंगलादेश
यो छनोट खेल्ने सबैभन्दा बलियो टोलीका रूपमा बंगलादेशलाई हेरिएको छ। चार पटक महिला टी–२० विश्वकप खेलेको बंगलादेशले हालसम्म उपाधि भने जित्न सकेको छैन। उसले चार पटक क्षेत्रीय छनोट खेलेको छ भने पहिलो पटक ग्लोबल छनोटमा सहभागिता जनाउन लागेको हो।
आईसीसी महिला टी–२० वरियतामा १०औँ स्थानमा रहेको बंगलादेश समूह ‘ए’ मात्र होइन, समग्र १० टोलीमध्ये पनि सबैभन्दा बलियो टोली मानिन्छ। धेरैको अनुमानमा बंगलादेश शीर्ष चारमा पुग्ने पहिलो टोली बन्नेछ।
२.आयरल्यान्ड
समूह ‘ए’ को अर्को बलियो टोली आयरल्यान्ड हो। आयरल्यान्डले चार पटक महिला टी–२० विश्वकप खेलेको छ। सन् २०१४ र २०१८ मा पाकिस्तानलाई हराउँदै आयरल्यान्डले विश्वकपमा जित पनि निकालेको थियो।
छ पटक क्षेत्रीय छनोट खेलेको आयरल्यान्ड पहिलो पटक ग्लोबल छनोट खेल्दैछ। हालसम्म विश्वकप उपाधि नजिते पनि आयरल्यान्डलाई शीर्ष चारको दाबेदार मानिएको छ।
३.पपुवा न्यूगिनी (पीएनजी)
पीएनजीले हालसम्म महिला टी–२० विश्वकप खेलेको छैन। आईसीसी वरियतामा १३औँ स्थानमा रहेको पीएनजी यसपटक पहिलो पटक विश्वकपमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ।
उसले पाँच पटक एसिया–प्यासिफिक क्षेत्रीय छनोट खेलेको छ र दुई पटक ग्लोबल छनोटमा सहभागिता जनाइसकेको छ। आइतबारबाट सुरु हुने प्रतियोगितामा पीएनजी तेस्रो पटक ग्लोबल छनोट खेल्दैछ।
४.नामिबिया
नामिबियाले पनि हालसम्म विश्वकपमा स्थान बनाउन सकेको छैन। उसले सन् २०१८, २०१९ र २०२२ मा गरी तीन पटक विश्वकप ग्लोबल छनोट खेलेको छ।
पाँच पटक अफ्रिका क्षेत्रीय छनोट खेलेको नामिबिया आईसीसी वरियतामा १८औँ स्थानमा छ। यसपटक नामिबिया पहिलो पटक विश्वकपमा पुग्ने लक्ष्यमा छ।
५.संयुक्त राज्य अमेरिका
अमेरिका एक पटक मात्रै विश्वकप ग्लोबल छनोटमा सहभागी भएको छ। आईसीसी वरियतामा २५औँ स्थानमा रहेको अमेरिका यो छनोट खेल्ने सबैभन्दा तल्लो वरियताको टोली हो।
उसले पाँच पटक अमेरिका क्षेत्रीय छनोट खेलेको छ तर हालसम्म महिला टी–२० विश्वकपमा स्थान बनाउन सकेको छैन।
समूह ‘बी’
१.नेपाल
महिला टी–२० विश्वकप ग्लोबल छनोटको आयोजक राष्ट्र नेपाल समूह ‘बी’ मा परेको छ। आईसीसी वरियतामा २१औँ स्थानमा रहेको नेपाल यो प्रतियोगिताको नवौँ वरियताको टोली हो।
तीन पटक क्षेत्रीय छनोट खेलेको नेपाल पहिलो पटक ग्लोबल छनोटमा सहभागी हुँदैछ। घरेलु मैदानमा खेल्दै नेपाल पहिलो पटक विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ।
२.स्कटल्यान्ड
समूह ‘बी’ को सबैभन्दा बलियो टोलीका रूपमा स्कटल्यान्डलाई हेरिएको छ। आईसीसी महिला टी–२० वरियतामा ११औँ स्थानमा रहेको स्कटल्यान्ड एक पटक महिला टी–२० विश्वकप खेलिसकेको छ।
उसले यसअघि पाँच पटक विश्वकप ग्लोबल छनोट खेलेको छ।
३.थाइल्यान्ड
थाइल्यान्ड आईसीसी महिला टी–२० वरियतामा १२औँ स्थानमा छ। उसले सन् २०२० मा पहिलो पटक महिला टी–२० विश्वकप खेलेको थियो। थाइल्यान्डले पाँच पटक विश्वकप ग्लोबल छनोट खेलिसकेको छ।
४.नेदरल्यान्ड्स
नेदरल्यान्ड्स समूह ‘बी’ को अर्को प्रतिस्पर्धी टोली हो। हालसम्म विश्वकपमा स्थान बनाउन नसकेको यो टोली आईसीसी वरियतामा १४औँ स्थानमा छ। नेदरल्यान्ड्सले तीन पटक विश्वकप ग्लोबल छनोट खेलेको छ।
५.जिम्बाबे
आईसीसी वरियतामा १५औँ स्थानमा रहेको जिम्बाबेले पनि हालसम्म महिला टी–२० विश्वकप खेलेको छैन।
उसले एक पटक ग्लोबल छनोट र दुई पटक अफ्रिका क्षेत्रीय छनोट खेलेको छ। जिम्बाबे सन् २०१३ र २०१५ मा अफ्रिकी छनोटमा सहभागी भएको थियो भने सन् २०२४ मा विश्वकप ग्लोबल छनोट खेलेको थियो।












