खल्तीको मान्छे बनाउनेगरी भागबण्डा गरियोः महामन्त्री थापा

10

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताको खल्तीको मान्छेलाई बनाउनेगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबण्डा गरिएको आरोप लगाएका छन्। बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीचको तालमेल नेताहरूको व्यक्तिगत स्वार्थअनुसार भएको आरोप लगाएका हुन्। उनले दुई पार्टीका शीर्ष नेताको नितान्त व्यक्तिगत सम्बन्धका मान्छेहरूलाई बनाउनेगरी क्लष्टर बाँडफाँड गरेर नाम सिफारिस गरिएको बताए। उनकाअनुसार एमालेले कुन ठाउँमा कुन समुदाय र कुन नेता बनाउने भनेर क्लष्टर लिएको छ भने कांग्रेसले पनि पार्टीको नभई नेताको खल्तीको मान्छे बनाउनका लागि क्लष्टर लिएको देखिन्छ।

राष्ट्रिय सभाका लागि कांग्रेसबाट प्रश्तावित नौ जना उम्मेदवारमध्ये तीन जनाको नाम कुनै पनि तल्लो तहको समितिबाट सिफारिस नभएको पनि उनले बताए। यसले संसदीय बोर्ड र केन्द्रिय समितिको मात्र नभई जिल्ला र क्षेत्रीय समितिहरूको सिफारिस गर्ने प्रक्रियाको समेत अपमान भएको उनको भनाई छ। उनले उम्मेद्वार चयन प्रक्रियामा समावेशिताको मर्मलाई समेत ख्याल नगरेको बताए। प्रश्तावित नौ जनामध्ये एक जना पनि जनजाति समुदायबाट नपरेको उनको गुनासो छ। उनले मुस्लिम समुदायका योग्य व्यक्ति उम्मेद्वार बनाउने अवसर आएको बेलामा जानीजानी बाहिर राखिएको आरोप लगाए।