गणेशराम लाछिद्वारा लिखित चार पुस्तकको विमोचन

10

भक्तपुर । सस्कृतिकर्मी, साहित्यकार एवं कलाकार गणेशराम लाछिद्वारा लिखित चार पुस्तकको विमोचन भएको छ । मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले आज थिमीमा एक समारोहका बिच लाछिका पुस्तकहरु विमोचन गर्नुभएको हो । लेखक लाछिले आफ्नो मातृभाषाबाट दुईवटा कृति “हेङ्ग्वा: जुम्ह मनु”(उपन्यास) र “कयता तंम्ह नेवा” नाटक तथा नेपाली भाषाबाट सिक्किम “यात्राको सेरोफेरो” सस्मरण र “अमुर्त सम्पदाभित्र” सास्कृतिक लेख सहित चार पुस्तकहरु तयार गर्नुभएको छ । लेखक गणेशराम लाछीका यसअघि नै १८ वटा पुस्तकहरु प्रकाशित छन् ।
मध्यपुरस्थित दबुली नेपालद्वारा आयोजित समारोहमा चारजना वरिष्ठ साहित्यकारहरुलाई समेत सम्मान गरिएको छ ।

नेपाली साहित्यका विभिन्न विधामा चार दशकभन्दा लामो समयदेखी कलम चलाउने वरिष्ठ साहित्यकारहरुको योगदानको कदर गर्दै भविष्यमा आफ्नो मातृभाषाबाट पनि साहित्यिक रचना सृजना गर्न प्रोत्साहन दिने उद्देश्यले ‘तेजकृष्ण नानिमाया लुमन्ति हना’ बाट चार स्रष्टालाई सम्मान गरिएको दबुली नेपालका अध्यक्ष ई. सन्तोष प्रजापतिले बताउनुभयो ।
समारोहमा वरिष्ठ चार साहित्यकारहरु पोखराका तिर्थ श्रेष्ठ, भक्तपुर गुन्डुका अभय श्रेष्ठ, पनौतीका सुर्यप्रसाद लाकोजु र मध्यपुर लोकन्थलीका रत्न प्रजापतिलाई नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, चान्सलर मल्ल के सुन्दर र भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले ढाका टोपि, दोसल्ला र कदर पत्रले सम्मान गर्नुभएको हो । दबुली नेपालले २०७४ सालदेखि नेपाली कलासस्कृती, इतिहास – परम्परा, लोक वाद्यवादनको संरक्षण र प्रबर्द्धनमा विभिन्न गतिविधिहरु गर्दै आएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, साहित्यकार, सस्कृतिकर्मी तथा स्थानीयहरुको उल्लेख्य उपस्थिति रह्यो ।