भक्तपुरका पत्रकार छुंकालाई कसले दियो धम्की

56

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव हरि सुन्दर छुंका (राजल) लाई अज्ञात व्यक्ति,समूहद्वारा धम्की दिएका छन् । आफ्नो खोजक हरि नामक फेसबुक उनको सो धम्की आएको कुरा यसरी सार्वजनिक गरेका छन् ।

मलाई धम्की दिइएको छ । नाम नखुलेका, अनुहार नदेखिएका, नचिनेका ( पूरै अनुहार छाेपेका) अँध्यारोको माैका छाेपेर आएका कायरहरूबाट ।
यो कुनै व्यक्तिगत रिसइवीको परिणाम होइन भन्ने मलाई लाग्छ । यो सत्य सार्वजनिक गरिँदै गएकोमा असहज बनेकाहरूको कायर प्रतिक्रिया हो ।
पुस १ गते साँझ,( करिब सवा ६ बजे) ताथली- नाला सडककाे तख्याेचा खण्ड । अपशब्द र अश्लील बाेल्दै, धम्क्याउँदै थियो । तिनीहरूकाे निहित स्वार्थ र उद्देश्य थियाे, डर देखाएर मलाई चुप लगाउने । धम्की दिएर समाचार लेख्न, फाेटाे/ भिडियो खिच्न, सार्वजनिक नगर्न टर्चर दिने ।
म पत्रकार हुँ । मेरो कलम प्रतिशोधका लागि चलेको छैन, पूर्वाग्रही छैन। मेरो क्यामेरा कसैको चरित्र हत्या गर्न क्लिक भएको छैन । मैले सार्वजनिक सरोकारका विषय उठाएको हुँ, उठाइ नै रहेकाे थिएँ, ताथलीमा भइरहेको माटो दोहन, उत्खनन, अवैध प्लटिङ, तस्करी र सार्वजनिक सराेकारका विषयमा ।
त्यही विषय उजागर भएकै कारण मलाई अज्ञात व्यक्ति/समूहले धम्की दिएको हो भन्नेमा मलाई कुनै द्विविधा छैन । धम्की दिनेहरू अज्ञात छन्, तर मैले लेखिरहेको विषय अज्ञात छैन, याे सार्वजनिक चासाेकाे विषय हाे ।
लुकेर दिएको धम्की कायरता हाे भन्ने मलाई लाग्छ । सार्वजनिक चासाेकाे विषयमा मैले उठाइरहेका सन्दर्भमा खुला बहसमा आउन नसक्नु, तथ्यसँग सामना गर्न नसक्नु र अँध्यारोकाे सहायतामा लुकेर मेराे प्रयासलाई दबाउने प्रयास गर्नु कायरपन हाे । मलाई थाहा छ, माटाे दाेहन,तस्करी, चाेरी पैठारी सेटिङमै भइरहेको छ । याे सेटिङका सूत्रधार र सहभागी, सहयाेगी र सहयात्री काेकाे हुन् भन्ने समयक्रमसँगै स्पष्ट हुँदै जानेछन्। नकाबधारीहरूकाे अनुहार चिनिनेछ । म धम्कीले रोकिने छैन, त्याे स्वभाव पनि छैन। बरु अझ तथ्यका साथ, जिम्मेवारीपूर्वक यस्ता विषयमा कलम चलाइरहनेछु । खबरदारी गरिरहनेछु ।
यदि सत्य लेख्नु अपराध हो भने,त्यो अपराध म निरन्तर गरिरहनेछु ।
ए, धम्की दिने कायर हाे, भाडाका टट्टु हाे, मलाई तर्साउनु अघि आफै तर्सिएका लाचार व्यक्ति/समूह, जाे हाेस्, बुझ्नू, डर देखाएर सत्य मेटिँदैन । सत्य दबाउने प्रयास जति हुन्छ, त्यो उति नै बलियो भएर बाहिर आउँछ ।

यस्तो थियो : २०८२ पुस १ गते साँझ ६:१७/१८ बजेदेखि ६:२० सम्मकाे एउटा घटना ।
`यही हाे, यही, ´पछाडिबाट अचानक आएकाे आवाजले ध्यान तान्याे ।
साँझकाे करिब ६ बजेर १० मिनेट भइसकेको थियाे । पुस १ गते । साँझ करिव सवा छ बजेको समय । म, च्याम्हासिंहबाट ताथली, नाला सडक हुँदै घर फर्किएँ । आफ्नै माेटर साइकलमा । झमक्क भएकाले सडकमा ओहोरदोहोर गरिरहेका सवारी साधनहरू हेडलाइट बालेर आइरहेका थिए, गइरहेका थिए। सडक बत्ती मधुरो थियो ।
म अघि बढि रहेँ आफ्नै रफ्तारले । तख्याेचा ( ठूलाे चाैर) कटेँ । त्यही क्रममा `यही हाे, यही´, पछाडिबाट आवाज आयाे । पछाडि‌बाट नानाभाँटी बोल्दै आइरहेको एउटा २२० सिसिकाे बाइक आइरहेको भेउ पाएँ । पछाडिबाट हेडलाइट ( फाेकस) बाल्दै ।
अन्य सवारी साधनहरू पनि आइरहेका थिए । अगाडिबाट खासै सवारी साधन आइरहेका थिएनन् । मैले बाइक साबिकभन्दा स्लाे गरेँ । थाेरै साइडमा गएँ । त्यतिञ्जेल २२० बाइक मेरै बाइककाे हाराहारीमा आइसकेको थियाे । त्याे बाइकमा २ जना सवार थिए, एक चालक, अर्को एकजना । दुबैले कालो रङको कपडा लगाएका थिए । पछाडि रहेकाले लङ्काेटजस्तो लामो लुगा लगाएका थिए। चालकले बाइककाे एक्सिलेटर बढायाे । ठूलाे आवाज निकाल्दै, धुईधुईधुई… गरे । पछाडि लङ्‌कोट लगाएका व्यक्तिले मलाई इशारा गर्दै मनपरि ` तँ, सा… मनपरि समाचार लेख्ने?, फाेटाे, भिडियो राख्ने? अरू काेहीलाई मतलब नहुने, तँलाई मात्र मु…। तँ (मु…) लाई किन धेरै चासो ? तँलाई के गर्नुपर्ने हो, राम्ररी थाहा छ । ख्याल गर मु.. । तँ आजकाल अलि नै बढी भा´ छस् ।´ भन्दै बाइक हुुँइकायाे ।
मैले मोटरसाइकल स्लो गर्दै साइडमा लगेकै बेला पाइन्टकाे खल्तीबाट मोवाइल झिक्न खाेजेँ । तर सकिनँ । जीउ नै सिरिङ्ग भइसकेको थियाे । मैले माेटरसाइकल नम्बर ठम्याउन सकिनँ ।
डर पनि लाग्याे । काे हाेला ? भन्ने प्रश्न आयाे । मलाई त्यसाे भनेर गएको बाईक कसकाे थियाे? केही भेउ पाउन सकिनँ । घर गएँ, घरमा नि भन्ने हिम्मत आएन । रातभर त्यही कुरा मनमा आइरह्याे ।
तर पनि मन भारी बनाइ, पुन: अर्को भिडियो( मिति २०८१ चैत १९/ २० गतेकाे) इडिट गरि सामाजिक सञ्जालमा सार्वजनिक गरेँ ।
सम्झेँ, मैले केही दिनदेखि ताथलीकाे विभिन्न ठाउँमा बढ्दो माटाे दाेहन, उत्खनन र तस्करीबारे सूचना, जानकारी, फाेटाे, भिडियो राखिरहेकाे थिएँ । त्याे दिन पनि अघिल्लो दिन चाँगुनारायण नपा वडा कार्यालयले ताथलीकाे फैढाेकास्थति फैढाेका आधारभूत विद्यालय र काठमाडौं क्यान्सर सेन्टरकाे पछाडिबाट लगिएको माटाेबारे स्थलगत अनुगमनको भिडियो र फाेटाे खिचेको थिएँ अनि समाचार लेखेकाे थिएँ । सायद् यही कारण हाे कि? आशा छ, कायरहरूकाे पहिचान हुनेछ