जेनजी आन्दोलनका आठ घाइते अझै अस्पतालमा

11

काठमाडौँ : जेनजी आन्दोलनको तीन महिना बित्दा ८ जना घाइते अझै अस्पतालको शय्यामा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता समेत रहेका स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ (एचईओसी)का प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार लामो चोटपटको अवस्थाका कारण ८ जना विरामी अझै अस्पतालमा उपचाररत रहेका हुन्। एचईओसी प्रमुख डा. बुढाथोकीका अनुसार हाल ३ जना घाइते राष्ट्रिय ट्रमा सेन्टर, २ जना सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, अर्का २ जना त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र १ जना घाइते उपत्यकाकै अर्को एक स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। एचईओसी प्रमुख डा. बुढाथोकीले भने‚ ‘गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइते हुनु भएका ८ जना अझै अस्पतालमा नै उपचाररत हुनुहुन्छ । अन्य घाइतेहरू पनि चिकित्सकको निगरानीमा फलोअप उपचार गराइरहनु भएको छ। उक्त आन्दोलनमा घाइते हुनुभएकाहरुलाई फलोअपमा समेत सहज सेवा दिन हामीले अस्पताललाई समन्वय गरिरहेका छौँ।”

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेको देशभरका ७८ वटा अस्पतालमा उपचार भएको थियो। एचईओसीका अनुसार उक्त आन्दोलनमा सामान्यदेखि जटिल प्रकारका घाइते भएका २ हजार ५७१ जना घाइते भएका थिए भने। ५१ जना घाइतेको अस्पताल उपचारको क्रममा मृत्यु भएको थियो। एचईओसी प्रमुख डा. बुढाथोकीका अनुसार हालसम्म जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचारमा ७ करोड जति खर्च भइसकेको छ। ‘७८ वटा अस्पतालमा जेनजी आन्दोलनम घाइते भएकाहरुको उपचार भएको थियो तर यीमध्ये १५ वटा अस्पतालले मात्रै उपचारमा खर्च भएको रकमको शोधभर्ना माग्नु भयो। यसरी माग्नु भएका अस्पताललाई हालसम्म हामीले ७ करोड जति भुक्तानी गरेका छौँ। अन्य अस्पतालले हामी शोधभर्ना लिँदैनौ भनेर माग्नु भएन’‚ एचईओसी प्रमुख डा. बुढाथोकीले भने।