काठमाडौं : जेनजी आन्दोलनछिको अन्यौलता चिर्दै दुई प्रमुख पार्टी महाधिवेशनमा केन्द्रित भएका छन्। महाधिवेशन प्रतिनिधि टुंग्याएसँगै एमालेका साढे ६ लाख कार्यकर्तालाई औपचारिक रुपमा महाधिवेशन लागेको छ। केन्द्रीय संगठन विभागले हिजोसम्म प्रतिनिधिहरुको नाम पठाइसक्न भनेको थियो। चार जिल्लाबाहेक सबै ठाउँमा प्रतिनिधि छानिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार केहीमा विवाद छ। धनकुटामा माइन्युट च्यात्नेदेखि मतपेटिका गायब पार्नेसम्मका गतिविधि भएका छन्। बझाङमा ऐन महर र भैरव सिंह गुटको शक्ति संघर्षले तीनथरी सूची सार्वजनिक हुँदा विवाद छ।
तनहुँमा नेताहरुबीच हात हालाहाल भएपछि मतगणना रोकिएको छ। योसँगै एमाले अब जनपरिचलनतर्फ केन्द्रित भएको बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले जानकारी दिए। उनका अनुसार उपत्यका र वरिपरिका जिल्लामा वडा तहबाटै कार्ययोजना बनाएर जनपरिचालनको तयारी सुरु गरिएको छ। भक्तपुरको सल्लाघारी मैदान ढाक्नेगरी कार्यकर्ता उतार्ने तयारीमा एमाले लागेको छ। एमालेले यही मंसिर २७ देखि २९ गतेसम्म ११औँ महाधिवेशन गर्दैछ। यता छोटो समयमै महाधिवेशन गर्नुपर्ने दबाबमा रहेको कांग्रेसले पनि आजैदेखि तयारी थालेको जनाएको छ। कार्यतालिका अनुसार यही मंसिर २० गते क्रियाशील सदस्यताका लागि फारम वितरण गरी पुस ८ भित्र नयाँ क्रियाशील सदस्यताको काम सक्नुपर्नेछ।













