भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको एसईई अभिमुखीकरण कार्यक्रम-२०८२ सम्पन्न भएको छ । आफ्ना सदस्य विद्यालयहरुको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु र गणित विषय शिक्षकको लागि अनिवार्य गणित विषयको एक दिने एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
चालू शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सम्मिलित हुने विद्यार्थीहरुलाई गणित विषयको अभिमुखीकरण गणित शिक्षा परिषद् का राष्ट्रिय अध्यक्ष एवं विषय विज्ञ डा.रमेश प्रसाद अवस्थीले गर्नु भएको थियो । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि गरिएको प्रशिक्षण कार्यक्रममा गणित विषयलाई कठिन रुपमा नलिई कसरी सहज र सरल बनाई सिक्न र सिकाउन सकिन्छ भनेर अन्तर्क्रिया गरिएको थियो ।
विद्यार्थीहरुले गणित विषयलाई बोझ र कठिन रुपमा बुझ्ने गरेकाले परीक्षाको समयमा गणित विषयलाई डरको रुपमा नभई सहज बनाउन अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य रमेश प्रसाद सिटौलाले दिनु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष राम प्रसाद खाताखोले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य पुष्टि गर्नु भएको थियो ! 
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले गणित विषयलाई व्यवहारिक ज्ञानसँग जोडेर हेर्नु पर्ने बताउदै अभिमुखीकरण कार्यक्रममा डा.रमेश प्रसाद अवस्थीले दिनु भएको उपायहरुलाई अपनाई अध्ययन गर्न प्रेरित गर्नु भएको थियो । गणित विषयलाई पनि दैनिक अभ्यास र क्रियाकलापको माध्यमबाट सिकाई गरेमा सहज हुने बताउँदै नेसनल प्याव्सन भक्तपुरले अर्को महिनामा अनिवार्य विज्ञान र सामाजिक विषयको पनि कक्षा १० का विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिने जानकारी दिनु भयो ।














