कार्तिक १४, धरान ।
वातावरण, पर्यावरण र जैव विविधता संरक्षणको नारा अंगाल्दै बायो–इथिक्स दिवस सम्पन्न भएको छ । जैविक विविधता विषयमा नेपालका विभिन्न मेडिकल कलेजहरु सहभागी भएर प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२५ अक्टोवर १९ मा बायो–इथिक्स दिवस मनाइएको हो । “मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षण आवश्यक छ” भन्ने तथ्य औंल्याउँदै बायोइथिक्स दिवस मनाइएको बायो–इथिक्स नेपाल एकाईका संयोजक तथा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनोरोग विभागका प्रमुख प्रा. डा. धनरत्न शाक्यले बताउनुभयो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध चेतनामूलक कार्यक्रमहरुको अक्टोवर ३१ का दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको उहाँले बताउनुभयो । नेपालका लागि कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सको महत्वपूर्ण १७ औं सिद्धान्त यस वर्षको नाराले मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, पर्यावरण, जैव मण्डल र जैव विविधताको संरक्षण अत्यावश्यक भएकाले सबैले आआफ्नो तर्फबाट भुमिका र पैरवी गर्नुपर्ने धारणा राख्नुभयो । एकाईका सदस्य प्रा. डा. सरुन कोइरालाले चिकित्सा शिक्षा, डा. अशोक ऐरले दन्त चिकित्सा, खेमचन्द सुवेदीले नागरिक तथा कानूनी पहलबारे प्रकाश पार्नुभयो । विद्यार्थी संकायका समिप रेग्मीले यस वर्षको नाराबारे प्रस्तूति राखे । दिवसका अवसरमा आयोजित फोटोग्राफी प्रतियोगितामा सुरजा शाक्य प्रथम, सम्पदा धिमाल दोस्रो तथा सुदिन भुषाल तेस्रो भए । त्यसैगरी आर्ट पोस्टरमा उज्ज्वल ठाकुर र सुरजा शाक्य, वैज्ञानिक पोष्टरमा प्रशान्त सापकोटा र कविता प्रतियोगितामा जीवन भुजेल पुरस्कृत भएका हुन् । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिदै आएको छ । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ देखि संलग्न भएको हो भने सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ ।













