बालबालिकालाई फुटबल सिकाउदैं सूर्यविनायक

15

भक्तपुर । सूर्यविनायक नगरपालिका नगर प्रमुख नगरप्रमुख वासुदेव थापाले नगर खेलकुद विकास समितिद्वारा आयोजित निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको शनिवार एक विशेष समारोहका बीच उद्घाटन गर्नुभएको छ । कार्यक्रमका क्रममा नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले यस प्रशिक्षणले बालबालिकालाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमले फुटबल खेलप्रति बालबालिकामा आकर्षण बढाउँदै भविष्यमा प्रोफेसनल खेलाडी उत्पादनमा टेवा पुग्ने थापाको विश्वास रहेको छ । सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले खेलकुदको विकासका लागि नगरपालिका सधैं तत्पर रहेको बताउनु भयो । खेलाडीका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने, खेलमैदान निर्माण र खेलकुद पूर्वाधार विकासमा नगरपालिकाले निरन्तर साथ र सहयोग प्रदान गर्ने समेत सो अवसरमा नगरप्रमुख थापाले प्रतिबद्धता जनाउनु भएको छ ।

उक्त कार्यक्रममा उद्घाटन समारोहमा उपप्रमुख सरिता भट्टराई, विभिन्न वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा सदस्यज्यूहरू, नगर खेलकुद विकास समितिका पदाधिकारीहरू, प्रशिक्षक, अभिभावक र अन्य व्यक्तित्वहरूको समेत विशेष उपस्थिति रहेको थियो। उक्त निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रममा ४ वर्षदेखि १६ वर्ष उमेर समूहका १३२ जना बालबालिका सहभागी भएका छन्। कार्यक्रमका मुख्य प्रशिक्षक गंगाराम देउजाका अनुसार प्रशिक्षण हरेक शनिबार बिहान ७:३० बजेदेखि नियमित रूपमा सञ्चालन हुनेछ।