काठमाडौं : आफ्नो घर र डेरा नभएको भनेर मन्त्रालयलाई नै निवास बनाएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनकी छोरी एक करोड तिरेर बंगलादेशमा एमबीबीएस गरिरहेको खुलेको छ। आफूले किताब बेचेको पैसाले आविष्कार केन्द्र खोलेको र पैसा नभएकोले आफूले पाएका तक्मा बेच्ने भन्दै चर्चा कमाएका मन्त्री पुनकी छोरी झरना बंगलादेशबाट एमबीबीएस गरिरहेको तथ्य फेला परेको हो। त्यो पनि बंगलादेशको सबैभन्दा महंगो मेडिकल कलेजबाट। उनले बंगलादेशको ढाकास्थित जहुरूल इस्लाम मेडिकल कलेजबाट एमबीबीएस गरिरहेकी बताइएको छ। नेपालका मेडिकल कलेजभन्दा बंगलादेशको उक्त मेडिकल कलेज बढी शुल्क लिनेमा पर्छ।
नेपालमा एमबीबीएस अध्ययनका लागि साढे ४१ लाखदेखि करिब ४६ लाखसम्म खर्च हुन्छ। तर, बंगलादेशको उक्त कलेजमा एमबीबीएस पूरा गर्न ४१ हजार डलर (करिब ६० लाख रुपैयाँ) लाग्ने गर्छ। खाने र बस्ने समेतको हिसाब जोड्दा १ करोड बढी शुल्क लाग्ने बंगलादेशमै अध्ययनरत विद्यार्थीहरू बताउँछन्। काठमाडौंको न्यूप्लाजास्थित आधार एजुकेशन प्रालिको फेसबुक पेजमा महावीरकी छोरी झरना बंगलादेशको ढाकास्थित जहुरूल इस्लाम मेडिकल कलेज २०२३/२४ को सेसनमा एमबीबीएसमा भर्ना भएको उल्लेख छ। उनी छात्रवृत्तिमा पढ्न गएकी हुन् कि पूर्ण शुल्क तिरेर पढ्न गएकी हुन् खुल्न सकेको छैन।













