भक्तपुर । नेपाल प्रहरीको कार्यालय र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी भवन, नीजि घरहरु समेत ध्वस्त भएका छन् । क्षतिको पूर्ण विवरण आउन अझैं केही दिन लाग्ने देखिन्छ । जीएनजी आन्दोलनको दोस्रो दिन मंगलबार भएको आगजनीको क्रममा भक्तपुर जिल्लामा करोडौैको क्षति भएको छ ।
आन्दोलनको क्रममा क्षति भएका प्रहरी युनिट पूनःस्थापना गर्न स्थानियहरु सक्रियका साथ लागेका छन् । भक्तपुर उद्योग बाणिज्य महासंघका महासचिव नविन प्रजापतिका अनुसार स्थानियहरु सक्रिय भएर प्रहरी कार्यालय सरसफाई गर्ने, केही दिनलाई रासन व्यवस्थापन गर्ने र ध्वस्त भएका संरचना पूर्ननिर्माण गर्न सहयोग संकलन गर्ने उद्देश्यका साथ लागेका छन् ।
कहाँ कहाँ क्षति
नेपाल प्रहरीको १८ वटा युनिट (कार्यालय), उपत्यका विकाश प्राधिकरण, यातायात कार्यालय (लाइसेन्स) राधेराधे, स्काउट भवन, सूर्यविनायक नगरपालिकाकाको वडा नं. ४ दधिकोट र ७ गुण्डुको कार्यालय भवन, सडक डिभिजन कार्यालय, जिल्ला समन्वय समिति भवनको तल्लो तला र जिल्ला प्रशासन कार्यालयको अभिलेख शाखामा क्षति पुगेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकी अनुसार प्रहरीका युनिट मध्य १८ वटा कार्यालय ध्वस्त भएका हुन् । प्रहरी वृत्त जगातीमा केही थान हतियार जलेको र केही हराएको आंशका गरिएको छ । ११ वटा यूनिटमा प्रहरी बस्न सक्ने अवस्था रहेको छ । “केही सवारी साधान पूर्ण रुपमा जलेको र एक जना प्रहरी कर्मचारी घाइते भएका छन्, उनको अस्पतालमा उपचार भइरहेको छ, ” एसपी बुढाथोकीले भने ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका एक कर्मचारीले भने लाइसेनस सम्बन्धी सेवा दिने यातायात कार्यालय पूर्ण रुपमा ध्वस्त भएको छ । उक्त कार्यालयमा रहेको सर्वसाधरणहरुको सम्पूर्ण दस्तावेज समेत नष्ट भएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरको राष्ट्रिय परिचयपत्र र नागरिकताको अभिलेख रहेको तीन वटा कोठा पूर्ण रुपमले नष्ट भएको प्रशासनले जानकारी दिएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार कार्यालय भित्र रहेका केही सवारीसाधन पूर्ण रुपमा नष्ट भएका छन् । केहीमा तोड्फोड भएको, प्रिन्टर कम्प्युटर केही थान जलेको केही हराएको छ । ल्याव, क्यान्टीन ध्वस्त भएका छन् । थप के कति क्षति भयो हामी विवरण संकलन गर्दै छौ, हामी शुक्रबार कार्यालय आएर प्रहरीसंग मिलेर मुचुल्का गर्ने काम गर्दै छौ्र, उनले भनिन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले यस आन्दोलनबाट जिल्लामा कति सरकारी कार्यालयमा नोक्सान भयो भनेर पूर्ण जानकारी आउन केही दिन लाग्ने बताएको छ । प्रहरी युनिटहरु पूनःस्थापति हुनेक्रम जारी छ, त्यसपछि क्रमशः मुचुल्का उठाएर विवरण आएपछि मात्रै थाहा हुने ती कर्मचारीको भनाई छ । नीजि सम्पतिको समेत कति हानी नोक्सानी भयो भनेर जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
केही राजनितिक व्यक्तित्वको घरमा समेत आगजनी हुदाँ करोडौंको नीजि नोक्सानी भएको छ । नेकपा एमालेका अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको सूर्यविनायक नगरपालिका २ बालकोटमा रहेको नीजि निवास पूर्ण रुपमा ध्वस्त भएको छ । सोही नगरपालिकाको वडा न. ७ मा रहेको एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको घर, सोही वडाका अध्यक्ष रबिन्द्र सापकोटाको घर सूर्यविनायक नगरपालिकाको वडा नं. ८ मा रहेको सुमित्रा थापा घर पूर्ण रुपमा ध्वस्त भएको छ । मध्यपुरथिमि नगरपालिमा वडा नं. १ लोकनथलिमा रहेको एमालेका नेता गोकुल बास्कोटाको घरमा समेत आगजनी हुदाँ क्षति भएको छ । राधेराधेमा रहेको सवारी साधानको प्रयोगात्मक परिक्षा हुने स्थान इजिवय ट्रायल सेन्टरमा समेत आगजनी भएको छ ।














