भक्तपुर । मानवबस्तीमा आईपर्ने दैविक तथा प्राकृतिक विपत्तिलाई पन्छाउने उद्देश्यका साथ मध्यपुरथिमि नगरपालिकाका बिरेन्द्र भक्त गजु श्रेष्ठले चौथों पटक जिब्रो छेड्ने भएका छन् । १० इन्चको फलामको सुइँरोबाट जिब्रो भाद्र शुक्ल पुर्णिमा दिन श्रेष्ठले जिब्रो छेड्न लागेका हुन् । वि.स २०२६ सालमा रोकिएको यो जात्रा २०५० सालमा फेरि सुरु भएर रोकिदैं आएको थियो । २०७४ सालबाट निरन्तर कायम रहेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
जिब्रो छेडिसकेपछि महादीप (भ्ये) बोकेर जिब्रो छेड्ने व्यक्तिको चाहाना अनुसारको ठाउँ र धार्मीक स्थलको परिक्रम गर्ने चलको रहेको नगरप्रमुख श्रेष्ठको भनाई रहेको छ । गतसाल पशुपतिनाथ गएका श्रेष्ठले यो साल भक्तपुरको दतात्रय र नवदुर्गा मन्दिर जाने मनसाय राखेका छन् । उनको इच्छा अनुसार भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिसंग समन्वय गरिएको मध्यपुरका नगरप्रमुख श्रेष्ठ बताए । “आईतबार बेलुका जिब्रो छेडेपछि महादीप बोकेर मध्यपुरथिमि लायकु, बालकुमारीबाट शंखधरचोकहुदैं सल्लाघारी, दुधपाटी भएर भक्तपुर नगरक्षेत्रमा जाने तयारी रहेको छ,” नगरप्रमुख श्रेष्ठले भने ।
इतिहास कालमा मध्यपुर थिमिको येंया पुन्हिको जिब्रो छेड्ने जात्रा लाल मोहर भएको सरकारी सहयोग तथा मान्यता प्राप्त जात्रा भएको स्थानियहरु बताउँछन् । गजु श्रेष्ठका अनुसार जात्राकोलागि एक महिना अगाडी जिब्रो छेड्ने सुईरो (नातु) बनाउनका लागि नातु बनाउने नकर्मी (कौ नाय्) लाई पुजा दिने चलन रहेको छ ।
यो कार्यकोलागि तोरीको तेल, कपास, रातो भाले, समेबजि सहित नकर्मीको घरमा जाने गरिन्छ । जिब्रो छेड्ने सुईरो बनाईसकेपछि ३ हप्ता शुद्ध तोरीको तेलमा सुईरोलाई डुबाएर राखिन्छ । यस जात्रामा तीनवटा (सियो) सुईरोलाई माथिको भाग एउटै बिन्दु बनाई तलको भाग जिब्रोमा छेड्न तीनवटा सुईरो बनाएको हुन्छ । जात्रा हुन ८ आठ दिन अगाडिबाट पूजा सुरु हुने चलन रहेको छ ।
मध्यपुरथिमिको बोडेमा पनि हरेक नेपाली नयाँ वर्षको अवसरमा मनाइने सिन्दुर जात्रामा पनि जिब्रो छेड्ने परम्परा रहदैं आएको छ । भदौमा मनाइने यो जातत्रा करिब ३५० वर्ष अगाडिदेखि यो परम्परा कायम रहदैं आएको स्थानियहरुको भनाई छ । मध्यपुरथिमि नगरपालिकाको वडा नं. ५ स्थित भैरब मन्दिर परिसरमा आउने आईतबार साझँ उक्त जात्रा मनाइनेछ । विगतमा २०७४, ०७९ र ०८१ सालमा आफुले जिब्रो छेडेको र यो वर्ष सहित चार पटक हुने श्रेष्ठले जानकारी दिएका छन् । 














