अदालत सैन्य शैलीमा अघि बढेको प्रधानमन्त्रीको आरोप

32

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत सैन्य शैलीमा बर्खास्त र नियुक्त हुने गरेको टिप्पणी गरेका छन्।
राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै ओलीको यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री संसद्‌बाट चुनिने भएकाले अदालतको विषय नरहेको दाबी गरे। उनले अदालतलाई झोक चल्दा बर्खास्त र नियुक्त समेत गरेको ताजा अनुभव आफूसँग रहेको बताए। अदालत संविधानको व्याख्याता भएकाले अनुकूल व्याख्या गर्ने सुविधालाई लिएर त्यस्तो फैसला हुने गरेको बताए। आफूले अदालतको हुर्मत लिएको नभई अनुभव आदानप्रदान गरेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले भनाइ- जस्ताको तस्तै

प्रधानमन्त्री संसदबाट चुनिन्छ। चुनिएर बन्छ। कहिले कहिले अदालतले झोक चल्दा बाहेक संसदले हटाउँछ। अब अदालतलाई नै झोक चल्यो भने त कसको के लाग्छ र? अदालतले नै ठोकिदिन्छ, प्रधानमन्त्री बर्खास्ती गरिदिएँ। प्रधानमन्त्री संसदबाटै निर्वाचित हुन्छ। कहिले कहिले संसदलाई ज्वरो आएका बेलामा बाहेक। कहिले कहिले त फलानोलाई नियुक्ति गरिदिएको छु भनेर पनि ठोकिदिँदो रहेछ, अदालतले। किनभने संविधानको व्याख्याता हो अदालत त्यसकारण अदालतको कुर्सीमा बसेपछि व्याख्या गर्न पाइने भएको हुनाले अनुकुल व्याख्या गर्ने सुविधालाई उहाँहरूले प्रयोग गर्दा बर्खास्त वा नियुक्ति प्रधानमन्त्रीको संसदबाट नगरेको पनि हाम्रै देशको ताजै इतिहास छ।