पूर्वराष्ट्रपति भण्डारी र मुख्यमन्त्री कार्कीको गोप्य भेटको राजनीतिक संकेत के ?

16

एमालेले निषेध गरे पनि भण्डारीले विराटनगरमा आफ्नो सक्रियता देखाउँदै राजनीतिक भेटघाटलाई निरन्तरता दिएकी छन्।विराटनगर — ७ महिनाको अवधिमा तेस्रो पटक सोमबार विराटनगर ओर्लिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार राति करिब ८ बजे गोप्य भेटघाट गरेका छन् ।मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले कार्कीले करिब १ घण्टा भण्डारीसँग ‘वान टु वान’ भेट गरेको जनाए । लुइँटेलले भने, ‘मुख्यमन्त्रीले सुटुक्क भेट्नु भएको हैन, सरकारका मन्त्रीसहितको टोलीसँग गएर भेट्नु भएको हो ।’

एमाले केन्द्रीय समितिले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी त्यसलाई चुनौती दिँदै सक्रिय राजनीतिमा फर्किन लागेकी छन् । यही राजनीतिक संवेदनशीलताबीच मुख्यमन्त्री कार्कीले भण्डारीलाई भेट्नु राजनीतिक रूपमा महत्त्वका साथ हेरिएको छ । प्रेस सल्लाहकार लुइँटेलका अनुसार करिब एक घन्टा लामो भेटका क्रममा पूर्वराष्ट्रपति–मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको थियो । लुइँटेलले भने, ‘पूर्वराष्ट्रपतिको हैसियतमा भण्डारीलाई सम्मान गर्ने एमालेको नीति छ, त्यहीअनुरूप भेट भएको हो ।’