काठमाडौँ : राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले साझा एजेण्ड बनाई जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताएकी छन्।हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले हिन्दुकुश हिमालय क्षेत्रका मुलुकको पारिस्थतिकीय प्रणाली सामाजिक र आर्थिक चुनौतीका विषय सबैका साझा मुद्दा रहेको भन्दै यसबारे लड्न सबै मिल्नुपर्ने जरुरी रहेको बताइन्। हिन्दुकुश हिमालय क्षेत्रमा वायु प्रदूषण, जैविक विविधताको ह्रास, जलवायु परिवर्तनबाट सिर्जित संकट जस्ता विषय साझा चुनौतीका रूपमा देखापरेको बताइन्।
स्वच्छ हावामा श्वास फेर्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै हिन्दुकुश हिमालयन क्षेत्रका विद्यमान जैविक विविधताको उचित संरक्षण र व्यवस्थापन गरेर त्यसबाट समुदायले लाभ प्राप्त गर्ने सम्भावना तथा प्रकृति समाजको जलवायु उत्थानशीलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकार मिलेर साझा एजेण्डामा काम गर्न आवश्यक रहेको पनि बताइन्।समावेशी र सुदृढ हिन्दुकुश हिमालयन निर्माण गर्न क्षेत्रीय एकता र सहकार्यलाई अझ व्यापक बनाउनुपर्ने विषयलाई जोड दिँदै हिमालदेखि महासागरसम्म सबैको लागि स्वच्छ हावामा श्वास फेर्न पाउने वातावरणको निर्माण गर्नुपर्ने जरुरी रहेको बताइन्। जलवायु परिवर्तनबाट पर्ने असरलाई सम्बोधन गर्न हिन्दकुश हिमालय क्षेत्रका मुलुकहरुले महत्वकांक्षी कदमहरु चाल्नुपर्ने बताइन्।














