नबिल बैंकको नाफा १५ प्रतिशत बढ्यो

11

काठमाडौं । नबिल बैंकको खुद नाफा १५ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब १९ करोड थियो । बैंकको खुद ब्याज आम्दानी खास बढ्न नसके पनि लोन लस प्रोभिजन घट्दा नाफामा सकारात्मक योगदान पुगेको छ ।

खुद ब्याज आम्दानी पहिले १६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६ अर्ब ३२ करोड छ । लोन लस प्रोभिजन अघिल्लो आर्थिक वर्ष ४ अर्ब ६३ करोड रहेकोमा गत आर्थिक वर्ष २ अर्ब ३९ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ । वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ । यस हिसावले बैंकले गत वर्षको नाफाबाट प्रतिसेयर १७.६४ रुपैयाँ लाभांश वितरण गर्ने क्षमता राख्छ ।