काठमाडौँ : सत्तारुढ दल नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकार ‘बहिरो’ भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएका हुन्। उनले सरकारले बर्दिया जिल्लामा सञ्चालन हुँदै आएको नदी व्यवस्थापन आयोजना सुटुक्क डडेलधुरा स्थानान्तरण गरेको भन्दै आपत्ति जनाए। उनले बबई, भादा र औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट हटाइएकामा असन्तुष्टि व्यक्त गर्दै सरकारले बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नगरेको गुनासो गरे। गौतमले भन्नुभयो, ‘सरकार बहिरो भए जस्तो व्यवहार गर्यो। सुन्दा पनि सुनेन, देख्दा पनि देखेन। बर्दिया जिल्लामा भएको बबई, भादा, औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट सुटुक्क डडेलधुरा पुर्याइयो। मैले बारम्बार संसद्मा भने तर सरकारले सुन्दैन। सरकारले मेरो कुरा सुनोस्।’सांसद गौतमले सरकारसँग बर्दियाको नदी व्यवस्थापन आयोजना यथास्थानमा फर्काउन माग गरे। माग पूरा नभए सत्याग्रहमा बस्ने उनले चेतावनी दिए।














