काठमाडौँ : राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौँ-तराई-मधेश द्रुतमार्ग अर्थात् ‘फाष्ट ट्र्याक’ निर्माणको कामले गति लिएको छ। नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। तर नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको थिएन। अब भने कामले गति लिएको नपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। काठमाडौँ -तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आव २०८१र८२ को अद्यावधिक विवरण अनुसार आयोजनाको २०८२ असार मासान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत छ। यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत ९मोविलाइजेशन सहित० रहेको छ।
आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ। प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना (डुकुछाप खण्डमा जग्गा अधिग्रहण र द्रुतमार्गको शुरु विन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय गर्ने कार्य भइरहेको छ। आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्ब ५४ करोड रहेको छ। जग्गा खरिदको लागि दिइएको पेश्की १ अर्ब ६५ करोड तथा निर्माण व्यवसायीलाई पेश्की दिइएको ८२.३७ करोड र विद्युत प्राधिकरणको लागि पेश्की दिइएको रकम ९.८१ करोड रुपैयाँसहित कुल २ अर्ब ५७ करोड राजस्व दाखिला गरिएको रकम समेत समावेश गरिएकोले आयोजनाको खुद खर्च ७७ अर्ब ९७ करोड छ।













