काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–७ पाङलाथुङकी २२ वर्षीया एक सुत्केरीलाई ११ दिनपछि घर लगिएको छ । उनले साउन १ गते चौगानफया आधारभूत स्वास्थ्य इकाइमा छोरा जन्माएकी थिइन् । लगत्तै उनलाई घरका सदस्यहरुले तरकारी खेतिमा टनेलको रुपमा प्रयोग हुने प्लास्टिकको त्रिपालमुनि राखेका थिए । स्वास्थ्य इकाइबाट स्टाफ नर्स सुस्मिता रावत र स्वास्थ्य स्वयंसेविका लक्ष्मी शाहीले दुई–दुई पटक गएर सम्झाउँदा पनि घरपरिवारले देउता रिसाउने भन्दै सुत्केरीलाई घर लैजान मानेनन् ।
‘प्लास्टिकको त्रिपालमुनि बस्दा बच्चाको शरीरमा खटिरा आइसकेको थियो,’ स्टाप नर्स रावतले भनिन्, ‘बेलाबेला सम्झाउँदा घरपरिवारले मानेन ।’ सुत्केरीलाई शिशुसहित प्लास्टिकको त्रिपाल मुनि राखिएको समाचार अनलाइनखबरले प्रकाशित गरेपछि नेपाल प्रहरीले चासो व्यक्त गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले धारापोरी प्रहरीचौकीबाट एक टोली पाङलाथुङ गाउँ पठाएको थियो । यो खबर अनलाइनखबरमा प्रकाशति छ ।













