काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार मौसम पूर्वानुमान यस्तो रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।
सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।














