कुन राजमार्ग, कहिलेसम्म खुल्छ ?

18

काठमाडौँ : नेपालमा मनसुन सक्रिय भएर भारी वर्षा भएसँगै प्राकृतिक विपद्का घटना बढ्दै गएको छ। भारी वर्षाका कारण विभिन्न ठाउँका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार रसुवाको लेन्दे नदीमा आएको बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ। त्यसो त नेपाल चीनसँगको सम्पर्क पनि टुटेको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बाढिपहिरोका कारण प्रमुख १० राजमार्ग (कोशी राजमार्ग, विपी राजमार्ग, भेरी करिडोर, कान्ति लोकपथ, काठमाडौँ- फर्पिङ-कुलेखानी सडकखण्ड‚ मध्य पहाडी राजमार्ग, नेपाल र चीन नाका जोड्ने मितेरी पुल, पूर्वपश्चिम राजमार्ग, पाल्पा-गुल्मी सडकखण्ड र गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्ड) पूर्ण रूपमा अवरुद्ध छन्।

कुन राजमार्ग, कहिलेसम्म खुल्छ ?

संखुवासभा भोटखोला गाउँपालिका-४ स्थित वरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखी थुमसुर जाने कोशी राजमार्ग पूर्णरूपमा अवरोध भएको छ। वर्षातको अवधिभर सुचारु हुन नसक्ने प्रहरीले जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका ​अनुसार वर्षातका कारण विपदको घटना हुन नदिनका लागि असार २१ गतेदेखि साउन १८ गते (बेलुका १८:३० देखि बिहान ०५:०० बजे)सम्म विपी राजमार्गको सिन्धुली-खुर्कोट-काठमाडौँ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई आवागमनमा रोक लगाइएको छ। असार ९ गतेबाट रिजिगार खोलामा पानीको वहाब बढेकाले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ। पानीको बहाव घटेपछि मात्रै उक्त सडक सञ्चालन आउने प्रहरीले जनाएको छ। यसैगरी काठमाडौं-फर्पिङ-कुलेखानी सडकखण्डको फर्पिङबाट हात्तिगौँडासम्मको सडक निर्माणक लागि असार १२ गतेदेखि आज २५ सम्म बन्द रहनेछ। उक्त मार्गमा चल्ने सवारीसाधनहरूलाई वैकल्पिक सडक प्रयोग गर्नको लागि अनुरोध गरिएको छ।

प्रहरीका अनुसार असार २१ गते जाजरकोट छेडागाड नगरपालिका-३ दखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रूपमा अवरोध छ। रसुवा गोसाइँकुण्ड गाउँपालिका वडा-२ स्थित रसुवागढीमा मित्रराष्ट्र चीनको क्षेत्रमा परेको अविरल वर्षाका कारण भारी मात्रामा बाढी आई नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भइ मानिस र सवारीसाधनमा आवतजावत बन्द भएको छ। अब कहिलेबाट सुचारू हुने हो टुंगो छैन। नवलपरासी बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानी खोलास्थित पूर्वपश्चिम राजमार्गमा वर्षाका कारण माटो खुकुलो भई ३/४ फिट सडक भासिन जाँदा बाटो पूर्णरूपमा अवरुद्ध छ। यतिखेर भने एकतर्फी सञ्चालनमा आएको छ। पाल्पा रिब्दिकोट गाउँपालिका-३ मालमुलस्थित पाल्पा गुल्मी सडक खण्डमा अविरल वर्षाको कारण सडक माथिबाट ढुङ्गासहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरोध भएको छ। सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ। आजै बिहानै गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्डमा अविरल वर्षाको कारण पहिरोसहित रूख झरी बाटो पूर्ण रूपमा अवरोध छ। सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी थप अन्य राजमार्ग पनि अवरुद्ध भएका छन्। पाल्पाकाे सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका-५ जोरधारामा बुधबार बिहान माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। उनले पहिरो पन्छाउने काममा लागिरहे पनि पानी परिरहेकाले राजमार्ग कति वेला खुल्छ भन्ने यकिन नरहेको जानकारी दिए। उनका अनुसार पोखराबाट बुटवल र बुटवलबाट पोखरा, गुल्मी, बागलुङ जाने सवारीसाधन बीच बाटोमा रोकिएका छन्। टाढा टाढा हिँडेका सयौँ यात्रु अलपत्र परेका छन्। कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध छ। पहिरोले केही स्थानमा सडक भासिएको छ। उनले वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन कठिन भएको बताउँदै पानी रोकिएपछि पहिरो पन्छाउने जानकारी दिए।