-बिमला चन्द सानू
न्यानो चन्द्र र सूर्यको चमकमा जङ्गे निशानी भयो,
गोर्खा नाम जपेर विश्वभरमा सानन्द चर्चा रह्यो ,
यस्तै छन् जन भित्रका हृदयमा खेल्छन् कुराका कुरा,
हाँस्दै बाँच्न सकोस् धरा अब यहाँ हाल्दै नयाँ आँकुरा ।
पुर्खाको खत आल खाल जिउँदो ताजा छ यो ज्यानमा,
आफ्नो श्वास समेत राख्न झिरमा त्याग्यो खुसी शानमा,
बैरीको सब लोभ लालच निकै हुन्थे सबैमा ठुला,
रत्ती ख्याल भएन यो बिषयको काट्यौ तिनैका शिरा ।
त्यत्रो सैनिक सामु थोर न झुकी गर्ने ठुलो गर्जन,
गोर्खाली खुकुरी झिकेर रणमा साँच्यौ धरा सिर्जन,
कालो बादल गर्जियो सगरमा फाट्यो हिया शत्रुको,
यस्ता पौरख साहसी खलकले थाम्यो बिडो पुत्रको ।
यो नेपाल दया र धर्म गुणमा नौलो कथा कोर्दछ,
पापीका हर पाप मोक्ष तटमा काली बनी सोर्दछ,
राखौं विश्व समाजको पटलमा सम्मानको योजना,
आफ्नै पौरखले अवश्य छ हुने पूरा सबै चाहना ।
हाम्रा सन्तति ज्ञान रूप हँसिला प्यारा बनून् देखिँदा,
गर्ने काम र क्रोधको दहनमा आत्मा खुलोस् सर्वदा,
आमाका दस धार दूध रसको बुझ्ने छु मैले पनि,
पाऊँ रम्न म काखमा हजुरको हे जन्मदाता गुणी ।
-बैतडी
हाल : काठमाडौं














