इरानका भूमिगत आणविक केन्द्र ध्वस्त बनाउन बंकर बुस्टर बम र बी-१२ विमानको चर्चा
राजनीतिको रथ जतिबेला जता पनि घुम्न सक्छ । मध्यपूर्वमा जारी इजरायल र इरानबीचको युद्ध त्यस्तै एउटा उदाहरण बनेको छ । कुनै बेला साख्खै सम्बन्ध भएका यी मुलुक अहिले युद्धमा होमिएका छन् । इजरायल र इरानबीच साझा सीमा छैन तर एक अर्काको आकाशमा मिसाइल र ड्रोन हानाहानको अवस्था छ ।इजरायलले मिसाइलसँगै आफ्नो लडाकु विमान अन्य मुलुकको आकाश हुँदै इरानभित्रै पुगेर क्षेप्यास्त्र प्रहार गरेको छ । इरानले छिमेकी मुलुकका आकाश हुँदै मिसाइल तथा ड्रोन इजरायलमा प्रहार गरेको छ । कुनै बेला इरानले नै इजरायललाई राष्ट्रको मान्यता दिने दोस्रो मुस्लिम बाहुल मुलुक थियो । अमेरिकी र बेलायतसँग उसको राम्रो सम्बन्ध थियो । इरानी क्रान्तिपछि इस्लामिक स्टेटको घोषणापछि इरानले इजरायललाई राष्ट्रको रूपमा मान्यता दिएको छैन । इजरायलले पनि इरानलाई मध्यपूर्वमा अशान्ति फैलाउने शक्तिको रूपमा इरानलाई देख्छ । जारी इजरायल-इरान युद्ध तेस्रो विश्व युद्धको रिहर्सल जस्तो देखिन्छ । आणविक हतियारबाहेक युद्धमा प्रयोग हुने धेरै प्रविधि तथा हतियारहरू प्रयोग भएका छन् । पहिलो र दोस्रो विश्व युद्धमा जसरी सैनिकहरू एकअर्काको देशका सिमामा हात हालाहाल गरेर, बन्दुक पड्काउँदै भिडेका छैनन् । यो युद्ध ब्यालेस्टिक र क्रुज मिसाइल, ड्रोन तथा रकेट लन्चर, उच्च गतिका नयाँ पुस्ताका लडाकु विमान र त्यसमा लाग्ने मिसाइल, सुसज्जित प्रतिरक्षा प्रणाली र तीनमा प्रयोग हुने क्षेप्यास्त्रहरू देख्न सकिन्छ । बढी लक्षित संरचना ध्वस्त बनाएर घुँडा टेकाउने रणनीतिमा केन्द्रित छ यो युद्ध ।इजरायल र इरानबीचको सीमा १२ सय देखि १५ सय किलोमिटरको दूरीमा पर्छ । जेरूसेलम र तेहरानबीचको दूरी १८ सय ५० किलोमिटर छ । तर, यिनले अहिले प्रहार गरिरेहका क्षेप्यास्त्र जोर्डन र इराकी आकाश हुँदै जान्छन् । कहिले सिरियाको आकाश पनि प्रयोग भइरहेको छ ।














