स्वास्थ्यमन्त्रीको उत्कृष्ट काम : टाउको तथा मेरुदण्ड सम्बन्धी छुट्टै सरकारी अस्पताल बनाइने

16

काठमाडौँ : नेपालमा क्यान्सर, मिर्गौला, मुटु, श्वासप्रश्वासन सम्बन्धी छुट्टै विशिष्टिकृत अस्पताल भए पनि हालसम्म मस्तिष्क तथा मेरुदण्ड सम्बन्धी छुट्टै विशिष्टीकृत सरकारी अस्पताल छैन। तर अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मस्तिष्क, मेरुदण्ड र स्नायु रोग सम्बन्धी उपचार गर्ने छुट्टै विशिष्टीकृत अस्पताल स्थापना गर्ने भएको हो। आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य मन्त्रालयले न्यूरो साइन्सेस सेन्टर स्थापना गर्ने भएको हो। यसका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत कात्तिकमा सात सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरेका थिए। त्रिवि शिक्षण अस्पतालका सह प्राध्यापक डा गोपाल सेढाईंको संयोजकत्वमा राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेका थिए।

उक्त समितिमा वीर अस्पतालका डा. विनोद राजभण्डारी, आइओएमका डा. राजीव ओझा, नेप्लिज एसोसिएसन अफ न्यूरोलोजिष्टका प्रतिनिधि, साइकियाट्रिक्स एसोसिएसन अफ नेपालका प्रतिनिधि र जाकोल्स स्कुल अफ मेडिसिन एन्ड बायोमेडिकल साइन्स अमेरिकाका सहप्राध्यापक डा. अमित कँडेल सदस्य रहेका थिए। सोही समितिले दिएको सुझावअनुसार मन्त्रालयले राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापना गर्न लागेको हो। यसका लागि आर्थिक वर्ष २०८२।८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न न्यूरो साइन्सेस सेन्टर स्थापना गर्ने उल्लेख भएबमोजिम बजेट समेत सुनिश्चित भइसकेको छ।आगामी आवका लागि डेढ करोड प्रस्ताव गरेकामा अर्थ मन्त्रालयले न्यूरो केन्द्र स्थापनाका लागि ९० लाख विनियोजन गरेर बजेट सुनिश्चित गरेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखाका एक सदस्यले भने‚ ‘राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापना गर्नका लागि हामीले डेढ करोड प्रस्ताव गरेका थियौँ तर अर्थले ९० लाख विनियोजन गरेको छ। अब कुन ठाउँमा भन्ने कुराको टुंगो भएको छैन। यो भएपछि हामीले छिट्टै डिपिआर बनाएर भवन निर्माण प्रक्रिया अगाडि बढाउँछौँ।’यता केही दिनअघि राष्ट्रिय सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री पौडेलले राष्ट्रिय न्यूरो उपचार केन्द्रसँगै उक्त केन्द्रमा विशेष पुनःस्थापना एकाइ बनाइने समेत बताएका थिए। पुनःस्थापना सेवा स्वास्थ्य प्रणालीको अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसले विशेषगरी दीर्घकालीन रोग, अपाङ्गता, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पुनः सामान्य जीवनमा फर्कन सघाउने बताए।

अहिले नेपालमा निजी क्षेत्रबाट सञ्चालित पुनःस्थापना केन्द्रहरू प्रमुख शहरूमा सीमित रहेको भन्दै मन्त्री पौडेलले सबै क्षेत्रका सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयासरत रहेको बताए। स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य सेवा विभाग मातहतको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखा मार्फत पुनःस्थापना सेवा प्रवाह भइरहेको मन्त्री पौडेलले बताएका थिए।‘पुनःस्थापना सेवाको पहुँच र गुणस्तर कायम गराउन राष्ट्रिय पुनःस्थापना सम्बन्धी रणनीतिको तयारी भइरहेको छ, अब राष्ट्रिय न्यूरो उपचार केन्द्रसँगै यो सेवा पनि सञ्चालन हुन्छ’‚ स्वास्थ्यमन्त्री पौडेलले भनेका थिए।अहिले २३ वटा सङ्घीय अस्पताल, ३६ वटा प्रादेशिक अस्पताल र जिल्ला अस्पतालबाट फिजियो थेरापी सेवा प्रवाह भइरहेको छ।