पग्लियो लाङटाङ, सर्‍यो हिमरेखा, घटे पर्यटक!

17

काठमाडौं : आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरू प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो। घरछेउमा कञ्चन हिमनदी बग्थ्यो। युवाहरू बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरूसँग खेल्दै सफा गर्न लाग्थे। तर अब यो अनुभव एकदेशको कथा जस्तो भएको बताउँछन् स्थानीय पासाङ तामाङ।

आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने स्थानीयको अहिलेको अनुमानले समेत काम गर्न छोडिसक्यो। अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा हिउँ पर्ने कुनै ठेगान हुँदैन। २० वर्ष अघिसम्म हिमनदी (ग्लेसियर) बस्तीको नजिकैसम्म फैलिएको बताउँछन् लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ। जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्वतापमानमा भएको वृद्धिका कारण हिमालहरू संकटमा परेको उनी सुनाउँछन्। उनले तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होसियार भएर हिँड्नुपर्ने बाध्यता रहेको बताए। वि.स. २०७२ सालमा आएको बिनासकारी भूकम्प समेत जलवायु परिवर्तनकै कारण आएको हुनसक्ने पासाङको आशंका छ।उनले पर्यटन व्यवसायको उचित व्यवस्थापन हुन नसक्दा जलवायु परिवर्तनको असर बढिरहेको बताए। हिमालका रेखाहरूसँगै पर्यटन व्यवसाय पनि मेटिँदै जाने उनको चिन्ता छ।

हिमरेखा सरेको देखेका स्थानीयको अनुभवले जलवायु परिवर्तनको प्रभाव हिमालमा कति परेको छ भन्ने प्रष्ट हुन्छ। बढ्दो औद्योगिकरण र पृथ्वीको तापमान दु्रत र अप्राकृतिक रुपमा बढेको कारण हिमालको जीवन संकटमा पर्दै गएको छ। लाङटाङकै होटल व्यवसायी कान्छा तामाङले २० वर्षअघि एकमिटर उचाईसम्म हिउँले ढाक्ने गरेको अनुभव सुनाए। पछिल्लो केही वर्षमा हिमरेखाहरू माथि जाँदै गरेको उनको भनाइ छ।यस क्षेत्रमा संचालित होटल व्यवसाय व्यवस्थित नभएको कारण पनि पर्यावरणमा प्रतिकूल असर परेको उनको भनाइ छ। उनले सरकारले पर्यटकीय क्षेत्रमा सञ्चालित होटलहरूको लागि उचित मापदण्ड बनाउन आवश्यक रहेको समेत बताए। पर्यटकको संख्या बढे पनि सबैजसो स्थानीयहरू होटल व्यवसायमै लागेको कारण अपेक्षाकृत कमाई हुन छोडेको उनको अनुभव छ। छेउछाउमा सेताम्मे हिमाल। बीचमा हिउँले सेतै ढाकिएको मानव बस्ती। घर जति छन् प्रायः सबै होटल हुन्। नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको क्यानजेन भ्याली पुग्ने आन्तरिक पर्यटकहरू बढे पनि भुइँभरी छरिएका फोहोर देखेर दिग्दार हुने गरेका छन्।