काठमाडौँ : नेपालसँग खुला सीमा जोडिएको छिमेकी देश भारतमा यतिखेर कोभिड संक्रमित भेटिएका छन्। केही व्यक्तिको कोभिडकै कारण मृत्यु भएको जनाइएको छ।भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या ६ हजार नाघेको छ। भारतीय स्वास्थ्य विभागका अनुसार गत चौबिस घण्टामा ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १३३ पुगेको हो। जसमध्ये सबैभन्दा धेरै १ हजार ९५० केसहरू केरलामा छन्। प्रत्येक दिन संक्रमणबाट ५-६ जनाको मृत्यु भइरहेको छ। शनिवार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। भारतमा चार नयाँ भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ फेला परेको र त्यसमध्ये एनबी.१.८.१ भेरिएन्ट देखिएको त्यहाँका स्वास्थ्य विभागलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन्। हाल भारतमा जुन-जुन शहरमा कोभिडको संक्रमण देखिएका शहरहरू पनि नेपालीहरूको धेरै आवात-जावत हुने क्षेत्र हो। खुल्ला सिमाना जोडिएर दिनहुँ धेरै मानिस आउने-जाने गर्नाले पछिल्लो केही दिनयता नेपालमा पनि कोभिड संक्रमित बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत एक हप्ता यता सुदुरपश्चिम प्रदेशका विभिन्न नाका हुँदै नेपाल आउने १३ जना र अन्य प्रदेशका नाका हुँदै नेपाल भित्रिने ४ जनामा आरडिटी परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको छ। आरडिटी परीक्षणमा कोभिड पोजेटिभ देखिएकाहरूमा जीन सिक्वेन्सिङ गर्दै सरकार
छिमेकी देशमा कोभिड संक्रमण बढ्दै गएको र त्यहीँबाट नेपाल आउने नागरिकमा पनि आरडिटी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि जीन सिक्वेन्सिङ गरेर कुन खालको भेरिएन्ट देखिएको छ भनेर परीक्षण गर्ने तयारी गरेको छ। जसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले पछिल्लो एक हप्तामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएका केशहरूको नमुना संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. चन्द्रभाल झाले बताए।‘पछिल्लो हप्ता पोजेटिभ देखिएका कोभिड केशहरू सबैमा आरडिटी परीक्षण मात्रै गरिएको हो,अब हामीले पिसिआर परीक्षण र जीन सिक्वेन्सिङ गरेर कुन खालको भेटिएन्ट देखिएको हो भनेर पत्ता लगाउने निर्णय गरेका छौँ, जसका लागि स्याम्पल काठमाडौँ ल्याइसकिएको छ’, महाशाखा प्रमुख डा. झाले भने।
डा. झाका अनुसार हालसम्म नेपालमा कुन खालको भेरियन्ट देखिएको हो भनेर पत्ता लागिसकेको छैन।अति सङ्क्रामक छ ओमिक्रोनको नयाँ सब-भेरिएन्ट एनबी.१.८.१हाल भारतमा ओमिक्रोनको नयाँ सब भेरिएन्ट एनबी.१.८.१ भाइरस तीव्ररूपमा फैलिएको र यो भेरिएन्ट अति सङ्क्रामक भए पनि कम घातक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको यसअघि देखिएका सब-भेरिएन्टहरू घातक नदेखिए पनि संक्रामक बढी भएकाले जेष्ठ नागरिक, दीर्घ रोगका बिरामी, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई भने असर गर्न सक्ने जनाएको छ।चिकित्सकका अनुसार रुघा/खोकी लाग्ने, घाँटी दुख्ने, आलस्य हुने, मांशपेशी दुख्ने, जिऊ दुख्ने, नाक बन्द हुने, डायरिया हुने, ज्वरो आउने, जिउ दुख्ने यो भाइरसका प्रमुख लक्षण हुन्।
नेपालमा संक्रमण फैलिने सम्भावना खुल्ला सिमाना भएका कारण हालसम्म भारतमा देखिएका सबै संक्रामक रोगहरू केही समयपछि नेपालमा भित्रिने हुँदा जोखिम धेरै रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलेको भनाइ छ।‘खुल्ला सिमाना छ जसले गर्दा भारतमा देखिएका सबै खालका संक्रामक रोगहरू हाम्रोमा पनि देखिने जोखिम सधैँ हुन्छ। सीमा नाका, हवाई नाकामा रहेका हेल्थ डेस्कहरू सक्रिय बनाएका छौँ’, डा. बुढाथोकीले भने। यस्तै हाल कोभिड संक्रमण केशहरू भेटिएको सुदूरपश्चिम प्रदेशमा थप संक्रमणको जोखिम हेरेर परीक्षणलाई तीव्र बनाइएको र त्यसका लागि हालै मात्र २ सयभन्दा बढी पिसिआर परीक्षण एन्टिजेन किट पठाइएको इडिसिडी प्रमुख डा. झाले बताए।‘संक्रमण देखिएको क्षेत्रमा हामीले परीक्षण तीव्र बनाइएको छ, जसका लागि २ सयभन्दा बढी परीक्षण किट पठाइएको छ भने स्थानीय तहहरूसँग समन्वय गरेर सीमाहरूमा रहेका हेल्थ डेक्समा परीक्षण कडाइ गर्न भनिएको छ।’