स्कुटर दुर्घटना, चालकको मृत्यु

18

धनगढी : अत्तरिया सडकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको हो। कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका- १३ मोहनपुरस्थित धनगढी-अत्तरिया सडकमा आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०१०१२ प ४६४८ नम्बरको स्कुटर दुर्घटना भएको हो। ​उनका अनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको हो। दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो। त्यहीँ चिकित्सकले उनलाई मृत घोषणा गरेको सिंहले बताए ।स्कुटरको पछाडि बसेकी धनगढी १२ बस्ने ३२ वर्षीया सीता कुस्मी घाइते भएकी छन्। उनको उपचार पनि माया मेट्रो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।