काठमाडौं : सप्तकोशी नदीमा बेपत्ता भएका एक गोताखोरको शव फेला परेको छ। आज बिहानैबाट दुई डिएसपीसहितको कमाण्डमा खटिएको ३९ जना सुरक्षाकर्मीको टोलीले केहीबेरअघि मात्रै सप्तरीको कंकालीनी नगरपालीकास्थित जोगनियाबाट हरदेव राजवंशीको शव फेला पारेको सशस्त्र प्रहरीका नायब महानिरीक्षक कालीदास धौवजीले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। दुई ठाउँबाट खटिएका सुरक्षाकर्मीले अहिले अर्का बेपत्ता सुरज साउदको खोजी गरिरहेका छन्। खोजीमा बिहानैदेखि सप्तरी र चितवनको कुरिनटारका गोताखोर टोलीसहित ३९ सुरक्षाकर्मी परिचालन गरिएको छ। हिजो सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए। विपद्का बेला नदीमा फसेका व्यक्तिहरुको उद्धार गर्ने तरिका सिक्न उनीहरू अभ्यास गर्दै थिए। बेपत्ता भएका दुवैजनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन्।













