काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ । अख्तियारले नेपालसंग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको हो ।अख्तियारले कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको यो पहिलो पटक हो । अख्तियारको यो कदमसँगै रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचितन नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। नेपालको नेतृत्वमा अहिले प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन् । यदि विशेष अदालतले उनलाई यो मुद्धामा दोषि ठहर गरे उनको जेल यात्रा तय हुनेछ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम बिगो १८ करोड ५८ लचाख ५० हजार कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुलउपर हुन र साथै सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिएको जनाएको छ । भ्रष्टाचार मुद्दा लागेपछि गृहजिल्ला रौतहटमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन् । उनी बुधबार गृहजिल्ला रौतहट गएका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै काठमाडौं फर्किन लागेका हुन् ।
नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।












