राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ देखि सुरू हुने आन्दोलनले गणतन्त्र ढाल्ने दाबी गर्दै प्रधानमन्त्रीलाई हेलिकप्टरबाट भाग्ने सुविधा दिने अभिव्यक्ति दिएका छन्। राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राप्रपा सहितका राजावादी शक्तिहरूले जेठ १५ देखि ‘निर्णायक आन्दोलन थाल्ने’ बताउँदै आएका छन्। गणतन्त्र दिवसकै दिनबाट ‘गणतन्त्र ढाल्ने गरी निर्णायक आन्दोलन थाल्ने’ तयारीका लागि मंगलबार काठमाडौंका सबै स्थानीय तहमा अगुवा कार्यकर्ता भेला आयोजना भएको थियो।
सोही कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अस्ति सदनमा प्रधानमन्त्रीले भन्दै हुनुहुन्थ्यो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन। भाग त भन्नुभएन नि हो! भन्दै हुनुहुन्थ्यो। संसद्मा सवालजबाफ गर्न पाएन। आज हाम्रो पालो परेन। नत्र सोध्न हुन्थ्यो। म यहीँबाट भन्न चाहन्छु, सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकप्टरबाट (भाग्नलाईं) जाने मौका दिनुपर्छ। हेलिकप्टरको सुविधा प्रयोग गर्ने छुट दिनेछौं। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लानुपर्छ। लाने हो, यसपालि टुंग्याएरै छोड्ने हो।’ बंगलादेशको जसरी शासकले भाग्ने दिन आउने बताउँदै आएका लिङ्देनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाटै ‘कहाँ भाग्ने, कता भाग्ने’ भनेर व्यंग्य कसेका थिए।
आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताउँदै लिङ्देनले कार्यकर्ताहरूले अलिअलि तोडफोड बिना कसरी उनीहरूलाई ढल्लान् भनेर सोध्ने गरेको बताए।‘तर, हाम्रै छिमेकमा १९० वर्ष पुरानो ब्रिटिस शासन सत्यागहकै बाटोबाट अन्त्य गरिएको थियो। पुगनपुग दुई दशक लामो गणतन्त्रलाई सत्याग्रह र भद्र अवज्ञाकै बाटोबाट अन्त्य गर्दै हामी हाम्रो मान्यता स्थापित गर्छौं।’ राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ मा दोस्रोपटक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका सांसद हुन्। २०७४ र २०७९ मा प्रतिनिधिसभा निर्वाचन जितेका लिङ्देन दुवै पटक प्रधानमन्त्री ओली र उनको दल एमालेकै सहयोगमा निर्वाचित भएका हुन्।














