काठमाडौँ । नेपाल फर्काएका ९ जनालाई प्रहरीसँग करिब अढाइ घन्टा सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ। अमेरिकाले जहाजमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रहरीको मानव बेचबिखन ब्यूरो लगिएका उनीहरूलाई ब्यूरोले परिवारको जिम्मा लगाएको हो। कागजपत्रविहीन ९ जनालाई अमेरिकाले बुधबार बिहान करिब १० बजे त्रिभुवन विभानस्थल ल्याइपुर्याएको थियो। त्यसपछि अध्यागमन विभागले प्रक्रिया पूरा गरेर प्रहरीको जिम्मा लगाएको थियो। उनीहरूले प्रहरीसँगको बयानका क्रममा डंकी रुटबाट अमेरिका गएको र अध्यागमनले समातेको बताएका छन्। उनीहरूलाई अध्यागमनले सामान्य प्रक्रिया पूरा गरेर प्रहरीलाई बुझाएको थियो। प्रहरीले सोधपुछ गर्नुपर्ने भनेपछि उनीहरूलाई प्रहरीको जिम्मामा लगाइएको थियो।
अमेरिकामा काजपत्रविहीन फर्काइएका ९ जनामध्ये २ जना महिला र ७ जना पुरुष रहेका छन्। उनीहरू सबै एउटै विमानबाट नेपाल फर्काइएका होइनन्। ८ जना अमेरिकी जीआरपी २३ विमानबाट र १ जना कतार एयरवेजबाट नेपाल फर्काइएका हुन्। फर्काइएका ९ जनामध्ये ७ जना मात्र नेपालको विमानस्थल प्रयोग गरेर बाहिरी देश गएको देखिएको छ। बाँकीको ट्राभल हिष्ट्री देखिएको छैन।
डोनाल्ड ट्रम्प अमेरिकाको दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएका छन्।
ट्रम्प प्रशासनले मात्र हालसम्म २७ नेपालीलाई अमेरिकाबाट निकालिसकेको छ।













