पालिका अध्यक्षले उपाध्यक्ष र वडाध्यक्षको सवारीको साँचो किन खोसे ?

8

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र एक जना वडाध्यक्षको गाडीको चाबी खोसेका छन्। मंगलबार गाउँपालिकाको कार्यपालिका बैठकमा अध्यक्ष माझीले विभिन्न ६ प्रस्ताव प्रस्तुत गरेको र त्यसमध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन्। माझीले वडा नम्बर २ का वडाध्यक्षले चढ्दै आएको मोटरसाइकलको चाबी पनि खोसेका छन्। ग्रामथानमा कांग्रेस र एमाले निर्वाचित जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गर्दै आएका छन्।

बक्राहासहितका खोलाबाट अवैध उत्खनन् गराउन अध्यक्षको मिलेमतो रहेको उनीहरूको आरोप छ। उपाध्यक्ष चौधरीले भने अध्यक्षको मनोमानी बढेको बताएकी छन्। उनकाअनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा एमाले र कांग्रेसका जनप्रतिनिधिले असहमति जनाएका थिए।

गाउँ कार्यपालिकामा कांग्रेस–एमालेको बहुमत छ। माझी गत मंसिरको उपनिर्वाचनबाट माओवादी केन्द्रबाट उमेदवार बनेर अध्यक्ष जितेका थिए।