मन्थली । आज यहाँका माझी समुदायले लदी (कोशी)पूजा गरेका छन् । लदी पूजाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । माझी समुदायको पहिचानसँग जोडिएको सो पूजाका अवसरमा तामाकोशी, सुनकोशी तथा अन्य नदी किनारमा पूजाआजा गरिएको छ । नेपाल माझी विद्यार्थी सङ्घले मन्थलीमा खुल्ला माझी नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
माझी समुदायको महान् पर्वका रूपमा लिइने लदी पूजा हरेक वर्ष नदी किनारहरूमा गर्ने गरिन्छ । नदी आफूहरूको जीवन पद्धतिसँग जोडिएकाले परापूर्वकालदेखि पूजा गरिँदै आएको मन्थली नगरपालिका–८ गाईखुराका बालकृष्ण माझीले बताए। सुरुसुरुमा कोशी तथा ठूला नदीहरुहरुमा डुङ्गामा जङ्घार तार्ने र माछा मार्ने पेसा भएकाले पनि माझी समुदायको लदी पूजासँग विशेष सम्बन्ध छ ।














